काठमाडौं । भदौ १० गते आएको विनाशकारी बाढीका कारण हराइरहेका यातायात श्रमिकहरूको खोजी, उद्धार, राहत, उपचार र पुनःस्थापना गर्ने उदेश्यले नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले “विपद् व्यवस्थापन तथा उद्धार समिति” गठन गरेको छ । संगठनका अध्यक्ष भीमज्वाला राईको संयोजकत्वमा बागमती प्रदेशमा रहेका केन्द्रीय नेतृत्व, बागमती प्रदेश कमिटी तथा उपत्यकाका जिल्ला र इकाई कमिटीका अध्यक्षहरूलाई समेटेर १ सय १ सदस्यीय समिति गठन गरिएको हो ।
आइतबार उपत्यकामा उपलब्ध नेतृत्वको बैठकले २५ सदस्यीय सचिवालय समेत गठन गरेको छ । सचिवालयमा उपत्यकामा उपलब्ध केन्द्रीय कमिटीका १० जना, प्रदेश कमिटीका पदाधिकारी ७ जना तथा बाढी प्रभावित कमिटीहरु अरनिको रुट ट्रक इकाई, अरनिको बस इकाई र त्रिशूली इकाईका अध्यक्ष र सचिवहरू रहेकाछन् । समितिले बाढीमा परेर हराएका, घाइते भएका वा सम्पर्कविहीन श्रमिकहरूको यथार्थ विवरण संकलनलाई पहिलो प्राथमिकतामा राखेको छ । यसका लागि प्रभावित सदस्यहरूको नामावली तयार गर्ने, परिवारसँग सम्पर्क गरी अवस्था बुझ्ने तथा सम्पर्क नम्बर सहित सहायता डेस्क सञ्चालन गर्ने निर्णय गरिएको छ ।
त्यसैगरी जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय तह तथा नेपाल रेडक्रसलगायत उद्धारमा संलग्न निकायहरूसँग तत्काल समन्वय गर्ने निर्णय बैठकले गरेको छ । खोज तथा विवरण संकलन कार्यलाई प्रभावकारी बनाउन प्रभावित इकाई कमिटीको अगुवाईमा सम्पूर्ण कमिटी तथा उपत्यकामा रहेका विभिन्न कमिटीका अध्यक्षहरु स्वयंसेवकका रुपमा परिचालन गरिने भएको निर्णय गरेको छ ।

बैठकले राहत व्यवस्थापनलाई समेत प्राथमिकतामा राख्दै प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने, अस्थायी बसोबासको व्यवस्था मिलाउन सहयोग गर्ने तथा घाइते श्रमिकहरूको उपचारका लागि सहयोग जुटाउने निर्णय गरेको छ । यसैबीच राहत संकलन तथा वितरणलाई व्यवस्थित बनाउन संगठनको केन्द्रीय खातामार्फत राहत कोष सञ्चालन गर्ने निर्णय गरिएको छ । संगठनले व्यवसायी, यातायात मजदुर, शुभेच्छुक तथा विभिन्न संघसंस्थासँग हातेमालो गर्ने निर्णय गरेको छ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले विपद्को यस कठिन घडीमा सम्पूर्ण संगठन संरचना परिचालन गरेर प्रभावित श्रमिक तथा तिनका परिवारको उद्धार, राहत, उपचार र पुनःस्थापनामा सक्रिय भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरेको छ ।

