धनगढी । भदौ ९ गते अपराह्न करिब साढे ५ बजे रसुवाको हाइड्रोपावरमा काम गरिरहेका ओभरसियर २४ वर्षीय केशव विष्टले आमाको मोबाइलमा फोन गरे । बुवासँग पनि केहीबेर उनको सामान्य कुराकानी भयो । त्यसदिन केशवले घरमा १३ हजार रुपैयाँ पठाउने बताए । केहीबेरमै पैसा पनि पठाइदिए ।
पैसा पठाइदिन्छु भनेको थियो, पठाइदियो पनि । त्यसपछि कुरै भएन,’ केशवका बुवा डम्मरबहादुर विष्टले भने । भोलिपल्ट भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठुलो जनधनको क्षति भयो । रसुवास्थित लाङटाङ हाइड्रोपावरमा ओभरसियरका रूपमा कार्यरत केशव त्यसपछि परिवारको सम्पर्कमा छैनन् ।
बैतडीको सुर्नया गाउँपालिका–५, विष्टपाली कप्स्यालीका डम्बरबहादुरले छोराको अवस्थाबारे कुनै खबर पाउन सकेका छैनन् । छोराको उद्धार हुन्छ कि भन्ने आशामा परिवार छ । समय बित्दै जाँदा उनको मनमा आशाभन्दा बढी निराशाले छोपेको छ । ुछोरा पावर हाउसमै बस्थ्यो भन्ने सुनेको छु । ११ बजेदेखि ड्युटी थियो भन्ने पनि खबर पाएको छु । साथीभाइले पावर हाउसभित्रै थियो भनेका छन्, डम्बरबहादुरले भने, हिजो-अस्तिसम्म त आशा थियो, अब त मेरो आशा टुटिसक्यो ।’
केशवका बुवा डम्बरबहादुर किसान हुन् । जीवनभर खेतीपाती गरेर परिवारको गुजारा चलाएका उनले छोराको भविष्यका लागि भारतमा समेत मजदुरी गरे । उनको त्यही सङ्घर्षबाट पढेका केशव इलेक्ट्रिकल डिप्लोमा आभेरसियर बने । उनले २०७५ सालमा एसईई दिएपछि महेन्द्रनगरस्थित भृकुटीमा इलेक्ट्रिकल इन्जिनियरिङ पढ्न थाले । तीन वर्षको डिप्लोमा कोर्स कोरोनाका कारण करिब पाँच वर्षमा पूरा भयो ।
पढाइ पूरा गरेपछि केशवले गोरखाको हाइड्रोपावरमा करिब एक वर्ष काम गरे । त्यसपछि दार्चुलाको मकरीगाड हाइड्रोपावरमा करिब ६ महिना काम गरे । पछिल्लो करिब एक वर्षदेखि उनी रसुवाको लाङटाङ हाइड्रोपावरमा कार्यरत थिए । ुमैले इन्डिया गएर यताउता पिठ्युँमा भारी बोकेर दुःख गरेर उसलाई पढाएँ । हाम्रो सहारा नै अहिले कहाँ छ, के छ भन्ने थाहा छैन,’ डम्बरबहादुरले भने ।
घरमा दुई छोरा र दुई छोरीमध्ये केशव जेठा छोरा हुन् । अहिले घरमा बुवा र आमामात्रै छन् । छोराको खबर नआएपछि उनकी आमाको अवस्था सम्हालिनसक्नु भएको छ । ुउसकी आमा भित्रै छिन्। बेहोसजस्तै छिन् । कुराकानी गर्न सक्ने अवस्थामा छैनन्,’ डम्बरबहादुरले भने । केशवको खोजी र उद्धारका लागि परिवारका आफन्तहरू पनि विभिन्न ठाउँबाट जुटिरहेका छन् । दाङबाट एक भतिजा रसुवातर्फ जाँदैछन् भने अर्का भतिजा दीपक विष्ट काठमाडौँमै रहेर खोजी तथा उद्धारका लागि पहल गरिरहेका छन् ।
रसुवाको भोटेकोशीमा आएको बाढीपछि सुदूरपश्चिमबाट मात्रै ठुलो सङ्ख्यामा मानिस सम्पर्कविहीन भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरीले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार सुदूरपश्चिमका करिब १३० जना अझै सम्पर्कविहीन छन् । तीमध्ये एक हुन्- सुर्नया–५ का २४ वर्षीय केशव विष्ट ।
छोरा सुरक्षित होला र फेरि फोन आउला भन्ने प्रतीक्षामा आफू रहेको डम्बरबहादुरले बताए । छोराको सास वा लासको खबरसमेत नपाउँदा आफूहरूलाई धेरै पिडा भएको डम्मरको भनाइ छ । छोराको सास वा लास पत्ता लगाइदिन उनले सबैलाई आग्रहसमेत गरेका छन् ।

