धनगढीः कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको छ।
मृतकका परिवार र यातायात व्यवसायीबीच १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको हो। सहमतिसँगै मृतकका परिवार शव बुझ्न तयार भएका छन्। उनीहरुले आन्दोलनका कार्यक्रम समेत फिर्ता गरेका छन्। आइतवार अत्तरिया बसपार्क अगाडि महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२००१ ख ९५६ नम्बरको महाकाली यातायातको बसले बोहरालाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट बझाङको मस्टा गाउँपालिका–६ घर भई हाल अत्तरिया बस्दै आएकी ५३ वर्षीया बोहराको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि बसले किचेर बोहराको मृत्यु भएको भन्दै आफन्त र स्थानीयले चालकलाई कारबाही तथा उचित क्षतिपूर्तिको माग राख्दै अत्तरिया बजारमा चक्काजामसहित विरोधका कार्यक्रम गरिरहेका थिए।

