बैतडीको सुर्नया गाउँपालिका–२ गवानीको विकट पहाडी बस्तीमा जन्मिएका बीर बहादुर बिष्ट “बिनोद” को जीवन कथा संघर्ष, आँसु, परिश्रम र सफलताको प्रेरणादायी यात्रा हो । अभावसँग जुध्दै हुर्किएका बिनोद आज समाजसेवा, व्यवसाय र राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।
२०४९ साल कार्तिक १५ गते बुवा रण बहादुर बिष्ट र आमा मानमती बिष्टको कोखबाट जन्मिएका बिनोदको बाल्यकाल निकै कठिन थियो। घरमा पाँच भाइ र दुई बहिनीको ठूलो परिवार थियो। सानो खेतीपातीबाट परिवारको गुजारा चल्थ्यो। तर त्यो खेतीले वर्षभरी खानसमेत पुग्दैनथ्यो। कहिलेकाहीँ एक छाक मात्रै खाएर सुत्नुपर्ने अवस्था आउँथ्यो भने कहिलेकाहीँ मकै र भटमास भुटेर पेट भरिन्थ्यो।
उनले प्रारम्भिक शिक्षा नेरा मावि गवानीमा पाँच कक्षासम्म अध्ययन गरे। त्यसपछि डडेलधुराको महेन्द्र उच्च माविमा पढाइ अघि बढाए। कक्षा ११ र १२ मा माउन्टेन उच्च माविमा अकाउन्ट विषय लिएर अध्ययन गरे। तर घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाइलाई निरन्तरता दिन सकेनन्। बिनोदलाई सानैदेखि परिवारको पीडा थाहा थियो। एक जना दाइ भारतमा रोजगारी गर्थे भने अर्को दाइ गाडीमा सहचालकको काम गर्थे। बुबा खेतिपातीमै व्यस्त हुनुहुन्थ्यो। साना भाइबहिनीको जिम्मेवारी पनि परिवारमाथि थियो। यस्तो अवस्थामा उनले महसुस गरे—“अब पढेर मात्रै हुँदैन, परिवारलाई साथ दिन काम गर्नुपर्छ।”
नेपालमै केही गर्ने प्रयास पनि उनले गरे। प्रहरी र सेनामा भर्ती हुन खोजे। तर पहुँच र शक्तिको खेलले गर्दा सफल हुन सकेनन्। अन्तर्वार्ताबाट बाहिरिएपछि एक दिन ब्यारेक बाहिर बसेर उनी धेरै रोए। त्यो दिनले उनलाई जीवनको यथार्थ बुझायो। उनले निर्णय गरे—अब विदेश गएरै भए पनि परिवारलाई साथ दिनुपर्छ। उनले बुबासँग विदेश जाने कुरा गरे। तर पासपोर्ट बनाउनसमेत घरमा पैसा थिएन। बुबाले भारतमा रहेका दाइसँग जान सल्लाह दिए। त्यसपछि उनी बैतडीबाट महेन्द्रनगर पुगे। त्यहाँबाट बनबसा हुँदै दिल्ली र अन्ततः बैंग्लोर पुगे। भारत पुगेपछि उनको संघर्षको अर्को अध्याय सुरु भयो। एउटा सानो होटलमा किचन हेल्परको काम पाए। मासिक तलब मात्र २५ सय भारतीय रुपैयाँ थियो। हिन्दी भाषा राम्रोसँग बोल्न आउँदैनथ्यो। होटलको व्यस्त काम, नयाँ ठाउँ, अपरिचित वातावरण र घरको यादले राति धेरैपटक उनी रोए।
तर उनले हार मानेनन्। “दुःख नगरी सुख पाइँदैन” भन्ने सोचका साथ काम सिक्दै गए। मेहनत, इमानदारी र लगनशीलताले गर्दा होटल मालिकहरूको विश्वास जित्दै गए। होटल फेरिँदै तलब पनि बढ्दै गयो। केही वर्षमै उनले मासिक ४० हजार भारुसम्म कमाउन थाले। सन् २०१६ मा हैदराबादमा उनले जीवन बदल्ने अवसर पाए। त्यहाँका एक होटल मालिकले उनलाई राम्रो सेवा–सुविधासहित कामको प्रस्ताव दिए। बिनोदले त्यो अवसर स्वीकार गरे। काम राम्रो हुँदै गयो, आम्दानी बढ्दै गयो र जीवन पनि विस्तारै सहज बन्दै गयो।
यही बीचमा उनको विवाहको कुरा चल्यो। उनले बुटवलकी एक युवतीसँग प्रेम गरेका थिए। परिवारलाई सुरुमा सहरकी केटी गाउँमा बस्न नसक्ने चिन्ता थियो। तर बिनोदले आफ्नी प्रेमिकालाई गाउँको वास्तविकता खुलेर सुनाए—“हाम्रो गाउँ पहाडमा छ, दुःख गर्नुपर्छ, सहरजस्तो सुविधा छैन।” ती युवतीले सरल उत्तर दिइन्—“नून रोटी खाएर भए पनि सँगै बसौँला।” त्यसपछि दुवै परिवार तयार भए र उनीहरूको विवाह सम्पन्न भयो। विवाहपछि केही समय गाउँमै बसे पनि परिवारको भविष्यका लागि बिनोद फेरि भारत फर्किए। गाउँका केही युवालाई पनि रोजगारीका लागि सँगै लिएर गए।
जीवन राम्रैसँग अघि बढिरहेको थियो। तर विश्वव्यापी कोरोना महामारीले सबैलाई प्रभावित बनायो। बिनोद पनि कोरोनाबाट गम्भीर बिरामी भए। डडेलधुरा अस्पतालमा उपचार गराउँदा चिकित्सकले बच्ने सम्भावना कम रहेको बताएका थिए। तर उनले मृत्युको मुखबाट दोस्रो जीवन पाए। त्यही घटनाले उनको सोच परिवर्तन ग¥यो। उनले महसुस गरे—“मसँग पैसा थियो र उपचार पाएँ, तर गरीब मानिसले कसरी बाँच्ला ?” त्यसपछि उनले समाजसेवामा सक्रिय हुने निर्णय गरे। बैतडीको सुर्नया गाउँपालिका क्षेत्रमा एम्बुलेन्स सेवा नहुँदा बिरामीले दुःख पाइरहेका थिए। उनले आफ्नै पहलमा भारतमा रहेका साथीभाइ र गाउँलेको सहयोग जुटाएर एक महिनासम्म निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरे। त्यस क्रममा सुत्केरी महिला, दुर्घटनामा परेका बिरामी र अन्य आकस्मिक अवस्थाका गरी करिब १४० जनाले सेवा पाए।
उनले शिक्षा क्षेत्रमा पनि सहयोग गरे। विद्यालयलाई वाई–फाई बोर्ड उपलब्ध गराए। पाताल भूमेश्वरको मूल गेट निर्माणमा अग्रसर भए। पालिका, वडा कार्यालय तथा विभिन्न संस्थामा घडी वितरण गरे। मतदाता परिचयपत्र बनाउन गाउँलेलाई निःशुल्क गाडीको व्यवस्था मिलाए। विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई सहयोग गर्ने काममा पनि उनी सधैं सक्रिय रहे।
बिनोद भन्छन्, “भगवानले मलाई दोस्रो जीवन दिनुभयो। त्यसैले मेरो कमाइको केही हिस्सा समाजका लागि खर्च गर्नुपर्छ भन्ने लाग्यो।” समाजसेवासँगै उनी राजनीतिमा पनि सक्रिय भए। राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ सोच र परिवर्तनको एजेन्डा बोकेर अघि बढ्दा उनी प्रभावित भए। पार्टी संगठन विस्तारका क्रममा उनी पनि जोडिए। २०८२ सालको संघीय निर्वाचनमा समानुपातिक उम्मेदवारसमेत बने। तर अन्ततः पार्टीकै सहमतिमा भोजराज जोशीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए। आज बिनोद भारतमा होटल व्यवसायसँगै अन्य साना व्यवसाय सञ्चालन गरिरहेका छन्। मासिक तीनदेखि चार लाख भारुसम्म बचत गर्न सफल भएका छन्। कैलालीमा केही जमीन जोडिसकेका छन्। सुन, चाँदी तथा सवारी साधन समेत उनले जोडिसकेका छन् । तर सफलतापछि पनि उनले आफ्नो विगत बिर्सेका छैनन्। भोक, अभाव र संघर्षले भरिएको बाल्यकाल नै आज उनको शक्ति बनेको छ।
बिनोद यतिमै सीमित व्यक्तित्व होइनन् । रोजगारी र व्यवसायसँगै सामाजिक सेवामा निरन्तर सक्रिय रहँदै आएका उनी प्रवासी नेपाली समाज भारतसँग आबद्ध भएर भारतमा रहेका नेपालीहरू समस्यामा पर्दा सहयोग, समन्वय तथा उद्धारसम्मका कार्यमा अग्रपंक्तिमा खटिने गरेका छन् । विदेशमा रहेका नेपालीहरू विभिन्न कारणले समस्यामा पर्दा आर्थिक, मानवीय तथा सामाजिक रूपमा सहयोग गर्न उनी सधैँ तत्पर देखिन्छन् ।
भारतमा आफ्नो कर्मथलो बनाएर व्यवसायिक जीवन अगाडि बढाइरहेका बिनोद सामाजिक उत्तरदायित्वलाई उत्तिकै महत्व दिने व्यक्तिका रूपमा परिचित छन् । व्यस्त जीवनशैलीका बाबजुद पनि उनी नेपाली समुदायको हित, एकता र सहयोगका लागि निरन्तर सक्रिय रहँदै आएका छन् । प्रवासमा रहेका नेपालीहरूलाई आपत्–विपत्मा साथ दिनु उनका लागि सामाजिक दायित्व मात्रै नभई आत्मिक सन्तुष्टिको विषय बनेको छ ।
त्यतिमात्र होइन, आफ्नो गाउँठाउँ र जन्मभूमिप्रति पनि उनको उत्तिकै माया र चिन्ता देखिन्छ । गाउँको विकास, स्थानीय नागरिकका समस्या तथा आधारभूत सेवा–सुविधामा सरकारको ध्यानाकर्षण गराउन उनी सधैँ अग्रसर रहने गरेका छन् । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी लगायतका विषयमा स्थानीय सरकार र सम्बन्धित निकायसँग समन्वय गर्दै जनताको आवाज उठाउने कार्यमा समेत उनको सक्रियता देखिन्छ ।
सक्ने ठाउँमा व्यक्तिगत रूपमा सहयोग गर्ने, सामाजिक कार्यमा साथ दिने तथा गाउँका युवालाई सकारात्मक काममा प्रेरित गर्ने कार्यमा पनि उनी निरन्तर लागिपरेका छन् । समाजका हरेक वर्गसँग आत्मीय सम्बन्ध राख्ने बिनोदलाई धेरैले सहयोगी, मिलनसार र जिम्मेवार व्यक्तिका रूपमा चिन्ने गर्दछन् ।
आफ्नो मजदुरी तथा व्यवसायिक जीवनसँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै प्राथमिकतामा राखेका बिनोद अब प्रत्यक्ष रूपमा जनताको सेवक बनेर काम गर्ने इच्छा व्यक्त गर्छन् । जनताले विश्वास र अवसर दिए जनप्रतिनिधिको भूमिकामा रहेर आफ्नो गाउँठाउँको विकास, नागरिकका समस्या समाधान तथा समाजको समग्र हितका लागि इमान्दारपूर्वक काम गर्न तयार रहेको उनको भनाइ छ । जनताको सुख–दुःखमा साथ दिने भावनासहित समाज सेवामा समर्पित बिनोद भविष्यमा अझ प्रभावकारी ढंगले नागरिकको सेवामा लाग्ने सोचका साथ अघि बढिरहेका छन् ।
बिनोदको सपना अब विदेशमै सीमित छैन। उनी आफ्नै देशमा केही गर्ने सोचमा छन्। गाउँका युवालाई विदेशिनुपर्ने बाध्यता हटाउने, रोजगारी सिर्जना गर्ने र समाजका लागि केही नयाँ काम गर्ने उनको लक्ष्य छ। साधारण परिवारमा जन्मिएर कठिन संघर्षका बीच सफलता हासिल गरेका बिनोद बिष्ट आज धेरै युवाका लागि प्रेरणाका पात्र बनेका छन्। उनको जीवनले एउटा सन्देश दिन्छ—“संघर्षबाट भाग्ने होइन, संघर्षलाई जित्ने हो।”

