धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) धनगढी उपमहानगर समितिको नेतृत्व चयनलाई लिएर पार्टीभित्र विवाद चुलिएको छ । जिल्ला समितिले गरेको निर्णयलाई प्रदेश समितिले उल्टाउँदै नयाँ जिम्मेवारी तोकेपछि पार्टीभित्रको आन्तरिक गुटबन्दी सतहमा आएको हो ।
यसअघि नेकपा कैलाली जिल्ला समितिले ललित खत्रीको संयोजकत्वमा धनगढी उपमहानगर समिति गठन गरेको थियो । जिल्ला समितिको निर्णयअनुसार लक्ष्मी चौधरीलाई इन्चार्ज र ललित खत्रीलाई संयोजकको जिम्मेवारी दिइएको थियो ।
तर, जिल्ला समितिको उक्त निर्णयपछि नेकपा सुदूरपश्चिम प्रदेश समितिले छुट्टै सर्कुलर जारी गर्दै धनगढी उपमहानगर समितिको नेतृत्वमा नयाँ जिम्मेवारी तोकेको छ । प्रदेश संयोजक हरिराम चौधरी ‘उत्सव’ र सहसंयोजक लालबहादुर खड्काद्वारा हस्ताक्षर गरिएको सर्कुलरमा बलबहादुर ऐरलाई धनगढी उपमहानगर समितिको संयोजकको जिम्मेवारी दिइएको उल्लेख छ ।
प्रदेश समितिको सर्कुलरमा दीपक सिंहलाई इन्चार्ज तोकिएको छ । त्यस्तै रमेश भट्टराई, ललित खत्री, मुकेश रैका, जयन्द्र दाहाल, सुरेश सुनार र बलराम पाण्डेलाई सहइन्चार्जको जिम्मेवारी दिइएको छ ।
जिल्ला समितिले गरेको निर्णयको केही समयमै प्रदेश समितिबाट त्यसविपरीत नयाँ सर्कुलर जारी भएपछि धनगढीमा नेकपाको संगठन निर्माण र नेतृत्व चयनको विषय थप विवादित बनेको हो ।
पार्टीभित्र पछिल्लो समय जिल्ला तहमा दुई समूहबीच शक्ति संघर्ष चलिरहेको बताइन्छ । यही विवादको प्रभाव नगर समिति गठनमा समेत परेको नेताहरूको भनाइ छ । जिल्ला समितिले एउटा निर्णय गर्ने र प्रदेश समितिले त्यसलाई संशोधन गर्दै अर्को निर्णय सार्वजनिक गर्ने अवस्थाले पार्टीको आन्तरिक समन्वयमाथि समेत प्रश्न उठेको छ ।
विशेषगरी धनगढी उपमहानगरपालिका राजनीतिक रूपमा महत्वपूर्ण क्षेत्र भएकाले यहाँको नेतृत्वमा कसलाई स्थापित गर्ने भन्ने विषयलाई दुवै समूहले प्रतिष्ठाको विषय बनाएको देखिन्छ । त्यसैका कारण नगर समिति गठनमा समेत सहमति जुट्न नसकेको बताइएको छ ।
प्रदेश समितिले नयाँ सर्कुलर जारी गरेपछि अब जिल्ला समितिको निर्णय कार्यान्वयन हुने कि प्रदेशको नयाँ निर्णयअनुसार समिति अघि बढ्ने भन्ने विषय थप पेचिलो बनेको छ । यसले नेकपाको कैलाली जिल्ला र सुदूरपश्चिम प्रदेश नेतृत्वबीचको समन्वय र अधिकार क्षेत्रबारे समेत बहस सिर्जना गरेको छ ।
अहिले पार्टीभित्र दुवै पक्ष आ–आफ्नो निर्णयलाई आधिकारिक भन्दै अघि बढ्ने तयारीमा देखिएपछि विवाद थप उत्कर्षमा पुग्ने संकेत देखिएको छ ।

