धनगढी : जिल्ला प्रहरी कार्यालय बझाङ कार्यसम्पादन मूल्यांकनमा देशभरमै उत्कृष्ट घोषित भएको छ।
प्रहरी प्रधान कार्यालयले हिमाली जिल्लाअन्तर्गत साउन महिनाको कार्यसम्पादन मूल्यांकनमा बझाङ प्रहरीलाई उत्कृष्ट घोषणा गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले जानकारी दिएका छन्।
जिल्ला प्रहरी कार्यालय बझाङको कमान्ड सम्हालेका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराको नेतृत्वमा बझाङ प्रहरी उत्कृष्ट भएको हो। हालै मात्र बझाङको कमान्ड सम्हालेका डीएसपी जोरा कुशल कमान्डिङ क्षमता भएका प्रहरी अधिकृतका रूपमा चिनिन्छन्।
यसअघि जिल्ला प्रहरी कार्यालय बाजुरा पनि हिमाली जिल्लातर्फ कार्यसम्पादन मूल्यांकनमा देशभरमै उत्कृष्ट घोषित भएको थियो।
डीएसपी जोरा यसअघि सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा कार्यरत थिए। बझाङ पुगेपछि उनले प्रहरीको कार्यसम्पादन, शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलाई प्राथमिकतामा राख्दै कमान्ड सम्हालेका थिए।

