धनगढीः सुदूरपश्चिम प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिकाले डोटीस्थित प्रसिद्ध शैलेश्वरी मन्दिरमा कोटीहोमका लागि सामग्री हस्तान्तरण गरेको छ।
बडीमालिका यात्राका क्रममा धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालसहितको टोलीले शैलेश्वरी मन्दिर पुगेर आगामी माघ महिनामा आयोजना हुने कोटीहोमलाई लक्षित गरी सामग्री हस्तान्तरण गरेको हो। उपमहानगरपालिकाले शैलेश्वरी मन्दिर व्यवस्थापन समितिलाई फोटो खिच्नका लागि निर्माण गरिएका पाँचवटा फोटो फ्रेम, ५० वटा डस्टबिन तथा शैलेश्वरी मन्दिरको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्व समेटिएको ३०० प्रति बुकलेट हस्तान्तरण गरेको छ।
सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख हमालले सुदूरपश्चिमका धार्मिक तथा ऐतिहासिक स्थलहरूलाई आपसमा जोड्दै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उपमहानगरपालिकाले यस्ता कार्यक्रमलाई सञ्चालन गरेको बताए। उनले शैलेश्वरी मन्दिरमा आउने श्रद्धालु तथा पर्यटकका लागि स्वच्छ, सुन्दर र व्यवस्थित वातावरण निर्माण गर्न डस्टबिन तथा आकर्षक प्रचार गर्न फोटो फ्रेमले सहयोग पुग्ने बताए। मन्दिरको इतिहास, धार्मिक महत्व र विशेषताबारे जानकारी दिन बुकलेटले प्रचारप्रसारमा समेत योगदान पु¥याउने उनको भनाइ छ।
सुदूरपश्चिमको धार्मिक पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन यहाँका प्रमुख धार्मिक गन्तव्यहरूको प्रचारप्रसार, संरक्षण र प्रवद्र्धनमा सबैको योगदान आवश्यक रहेको नगरप्रमुख हमालले बताए। शैलेश्वरी मन्दिरमा आयोजना हुने कोटीहोमजस्ता धार्मिक गतिविधिले धार्मिक आस्था र संस्कृतिको संरक्षणसँगै डोटी तथा समग्र सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

