धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्रीदेखि मन्त्रीसम्म नेकपा एमालेका उपमहासचिव लेखराज भट्टसँग बधाई तथा टीका ग्रहण गर्न पुगिरहेका छन् । मुख्यमन्त्री खगराज भट्टले अत्तरियास्थित एमाले उपमहासचिव लेखराज भट्टको निवासमै पुगेर भट्ट दम्पतीबाट बधाई तथा टीका ग्रहण गरेका छन् । यस्तै आर्थिक मामिला मन्त्री चक्र मल्ल र भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाट ‘सरल’ले पनि भट्ट दम्पतीबाट बधाई तथा टीका ग्रहण गरेका छन् ।
माओवादी पृष्ठभूमिका लेखराज भट्टसँगको आत्मीय सम्बन्धका कारण मुख्यमन्त्री तथा मन्त्रीहरू बधाई तथा टीका ग्रहण गर्न उनको निवास पुगेको बताइएको छ । भेटका क्रममा मुख्यमन्त्री तथा मन्त्रीहरूले आगामी बजेटका विषयमा समेत भट्टसँग सुझाव मागेको जनाइएको छ । प्रदेश सरकार सञ्चालन तथा आगामी बजेटका प्राथमिकताबारे समेत उनीहरूबीच छलफल भएको बताइएको छ ।

