कैलाली । सुदूरपश्चिम प्रदेश सरकार विस्तार गर्ने अन्तिम तयारी भइरहेको छ । ‘एक–दुई दिनभित्रै सरकार विस्तार हुन्छ,’ हिजो केही सञ्चारकर्मीलाई मुख्यमन्त्री खगराज भट्टले भनेका थिए, ‘हामी आन्तरिक अन्तिम गृहकार्यमा छौँ ।’ मुख्यमन्त्री भट्टले विश्वासको मत लिएलगत्तै सरकार विस्तारलाई पूर्णता दिने बताउँदै आइरहेका थिए । मन्त्री सिफारिस गर्न केन्द्रले नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशी, संयोजक हरिराम चौधरी ‘उत्सव’ र संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री खगराज भट्टलाई जिम्मेवारी दिएको थियो ।
तीन दलीय कार्यदलले अन्तिमसम्मको छलफल गर्दा पनि सर्वसम्मत हुन नसकेपछि अहिले आकांक्षीहरूको नाम केन्द्रलाई पठाउने र त्यहीँबाट आएको नामलाई स्वीकार गर्ने गरी सहमति भएको नेकपा प्रदेश इन्चार्ज भानुभक्त जोशीले जानकारी दिए । ‘हामीले निरन्तर छलफल गरेका थियौं । सबैको चाहना व्यक्त गर्नुभयो । हामीले इच्छा व्यक्त गर्नुभएकाहरू सबैको नाम पठाइसकेका छौं,’ इन्चार्ज जोशीले भने, ‘चाँडै नाम केन्द्रबाट आओस् पनि भनेका छौं ।’
प्रदेश इन्चार्ज जोशीका अनुसार केन्द्रबाट आएका नामलाई तत्काल मन्त्रीमा नियुक्त गरेर सरकार विस्तार गरिने छ । ३ मन्त्री र २ राज्यमन्त्रीका लागि कार्यदलले १२ जनाको नाम सिफारिस गरेको छ । साबिक नेकपा माओवादीबाट ७ जना, साबिक नागरिक उन्मुक्तिबाट ३ जना र साबिक नेकपा एकीकृत समाजवादीबाट २ जनाको नाम सिफारिस गरिएको छ ।
साबिक माओवादीबाट ओमविक्रम भाट ‘सरल’, शिवसिंह ओली, मानबहादुर धामी, अक्कल रावल, झपट साउद, लक्ष्मी विक र जानकी पौडेलको नाम सिफारिस गरिएको छ । साबिक नागरिक उन्मुक्ति पार्टीबाट कैलाश चौधरी, खुसीराम चौधरी र इन्दिरा गिरीको नाम सिफारिस गरिएको छ भने साबिक नेकपा एकीकृत समाजवादीबाट प्रकाश रावल र नरेश शाहीको नाम सिफारिस गरिएको छ ।
प्रदेशबाट सिफारिस भएका १२ नामहरूबारे आज केन्द्रमा छलफल गरेर ३ जनाको नाम पुनः प्रदेशमा पठाइने छ । उनीहरूमध्ये भौतिक पूर्वाधार विकास मन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र आन्तरिक मामिला मन्त्री नियुक्त हुने छन् । यसअघि नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री भट्टले आर्थिक मामिला मन्त्रीमा चक्र मल्ल, सामाजिक विकास मन्त्रीमा सन्तोषी थापा शर्मालाई र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारीलाई नियुक्त गरेका थिए । एमालेको तर्फबाट आर्थिक मामिला राज्यमन्त्रीमा जानकी बम ऐर नियुक्त भइसकेकी छन् ।
नेकपाले केन्द्रबाट नाम आएलगत्तै ३ मन्त्री र २ राज्यमन्त्री बनाउने तयारी गरेको छ ।

