धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री तथा प्रदेश सभा सदस्यहरूलाई सचिवालयमा कर्मचारी तथा सहयोगी नियुक्त गर्दा आफन्त तथा नातागोताभन्दा पार्टीका सक्रिय कार्यकर्तालाई प्राथमिकता दिन निर्देशन दिएको छ ।
प्रदेश कमिटी अध्यक्ष कृष्णप्रसाद जैशीले भदौ ४ गते जारी गरेको पत्रमा सचिवालयमा आवश्यक कर्मचारी तथा सहयोगी नियुक्त गर्दा आफन्त तथा नातागोतासँग प्रत्यक्ष सम्बन्ध भएका व्यक्तिहरूलाई नियुक्त गरिएको र पार्टीका गतिविधिमा जिल्ला तथा निर्वाचन क्षेत्रमा कम संलग्न व्यक्तिहरूलाई अवसर दिइएको भन्दै गुनासो बढेको उल्लेख गरिएको छ।
एमालेले सचिवालयमा नियुक्ति गर्दा योग्य, दक्ष, अनुभवी तथा जिम्मेवारी वहन गर्न सक्षम व्यक्तिलाई अवसर दिन निर्देशन दिएको छ। नियुक्ति प्रक्रियामा योग्यता, क्षमता, अनुभव, प्रतिबद्धता र जिम्मेवारीलाई मुख्य आधार बनाउन प्रदेश कमिटीले भनेको छ । त्यस्तै, जनसंगठन वा पार्टी कमिटीमा सक्रिय रूपमा काम गरेका व्यक्तिलाई प्राथमिकताका आधारमा अवसर प्रदान गर्न उपयुक्त हुने पत्रमा उल्लेख छ। जिल्ला तथा प्रदेशमा खटिएर पार्टीका गतिविधिमा सक्रिय रहेका व्यक्तिहरूलाई नियुक्ति गर्दा विशेष ध्यान दिनसमेत निर्देशन दिइएको छ ।
सुदूरपश्चिममा नयाँ राजनीतिक समीकरण बनेपछि नेकपा एमालेका तीन मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी छन् । एमालेबाट सन्तोष शर्मा थापा सामाजिक विकासमन्त्री, चक्र मल्ल आर्थिक मामिलामन्त्री, दमन भण्डारी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र जानकी ऐर बम आर्थिक मामिला राज्यमन्त्री छन्।

