काठमाण्डौँ: नवलपुरको गैँडाकोट नगरपालिका– १४, शंखदेवी सामुदायिक वनमा हराएका साढे दुई वर्षीय बालकको तीन दिनपछि सकुशल उद्धार गरिएको छ । भदौ २ गते बिहान ७ गैँडाकोट नगरपालिका– १४, भागरनिवासी हेमकुमारी आलेका साढे दुई वर्षीय नाति शिवान तामाङ जंगलमा बेपत्ता भएका थिए ।
च्याउ खोज्न जंगल गएकी हजुरआमाको पछि लागेका बालक जंगलमै बेपत्ता भएका थिए । बालकको आज जंगलबाट सकुशल उद्धार गरिएको नवलपुर प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाहरू, इलाका प्रहरी कार्यालय गैँडाकोट, रजहर र अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा आज बिहान अन्दाजी १० बजेतिर बालक फेला परेका हुन् ।
गैँडाकोट– १४, शंखदेवी सामुदायिक वनको भागर खोलाको सिरानमा बालक फेला पारी सकुशल उद्धार गरी निज बालकलाई सम्बन्धित आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । बालकको अनुहारमा सामान्य कोरिएको घाउ रहेको र अन्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

