धनगढी । धनगढीस्थित एक्सिस विद्याश्रममा सञ्चालन भइरहेको १२औँ ‘छुकछुके रोबोट’ कार्यशाला–२०८३ भदौ २ गते भव्य रूपमा सम्पन्न हुने भएको छ। श्रावण २९ गतेदेखि सुरु भएको चारदिने कार्यशालामा कक्षा ७ मा अध्ययनरत विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूलाई औद्योगिक स्तरमा हुने उत्पादन प्रक्रियाबारे सरल, प्रयोगात्मक तथा मनोरञ्जनात्मक तरिकाबाट जानकारी गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो। कार्यशालामा विद्यार्थीहरूले डिजाइन, मेकानिकल संरचना, इलेक्ट्रोनिक्स, प्रोग्रामिङ तथा उत्पादन निर्माणका आधारभूत चरणबारे प्रत्यक्ष अभ्यास गरिरहेका छन्।
विद्यालयकी प्राचार्य अनिता पन्तको प्रेरणादायी नेतृत्व तथा सक्रिय सहयोगमा सञ्चालन भइरहेको कार्यशालाले विद्यार्थीहरूमा सिर्जनशीलता, समस्या समाधान क्षमता, टोलीगत कार्य र नवप्रवर्तनप्रतिको रुचि अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयको भनाइ छ।
कार्यशालाको प्राविधिक प्रशिक्षण गोदावरी आविष्कार केन्द्रका प्रशिक्षक शेखर साउदले प्रदान गरिरहेका छन्। उनले विद्यार्थीहरूलाई STEM शिक्षासँगै रोबोटिक्समार्फत उत्पादन निर्माण प्रक्रियाको व्यावहारिक अनुभव दिलाइरहेका छन्।
कार्यशालाको अन्तिम दिन भदौ २ गते विद्यार्थीहरूले निर्माण गरेका ‘छुकछुके’ रोबोटबीच रोचक फुटबल प्रतियोगिता आयोजना गरिनेछ। विद्यालयका अनुसार रोबोट फुटबल प्रतियोगिता कार्यशालाको मुख्य आकर्षणका रूपमा रहनेछ।
विद्यालय प्रशासनले भदौ २ गते आयोजना हुने समापन समारोह तथा रोबोट फुटबल प्रतियोगितामा सहभागी भई विद्यार्थीहरूले निर्माण गरेका सिर्जना, सीप र उपलब्धिको प्रत्यक्ष अवलोकन गर्न सम्पूर्ण अभिभावकलाई आग्रह गरेको छ।
विद्यालयले कार्यशालाको मूल सन्देशका रूपमा ‘सिकाइलाई गतिविधिसँग जोडौँ, सिर्जना र उद्यमद्वारा अघि बढौँ’ भन्ने अवधारणालाई अघि सारेको छ।

