धनगढी । नेपाली महिलाको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै बद्री पंगेनी र हेमन्ता भट्टराईको स्वरमा नयाँ मौलिक तीज गीत ‘पति परमेश्वर’ सार्वजनिक गरिएको छ । गीतमा अभिनय अविशेक खड्का, गीता ढुंगाना, पुष्कर अवस्थी र करुणा पाण्डेको रहेको छ भने भिडियो निर्देशन विक्रम चौहानले गरेका छन् । गीत साउन ३१ गते आइतबार दिउँसो ४ बजे पुष्कर अवस्थीको युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
पछिल्लो समय तीजको मौलिकता र पर्वको मर्मभन्दा बाहिर गएर तडकभडकपूर्ण गीतहरू सार्वजनिक भइरहेका बेला ‘पति परमेश्वर’ ले तीजको धार्मिक तथा सांस्कृतिक भावलाई प्रस्तुत गर्न खोजेको निर्माण पक्षले जनाएको छ । गीतमा पार्वतीले पानीसमेत नपिई व्रत बसेर भगवान् महादेवको दीर्घायु र सुख–शान्तिको कामना गरेको पौराणिक भावलाई समेटिएको छ ।
श्रीमान्–श्रीमतीबीचको प्रगाढ प्रेम र आपसी सद्भावले परिवारमा सुख, शान्ति र खुसी ल्याउँछ भन्ने सन्देश गीतमार्फत दिन खोजिएको छ । गीतका शब्द तथा संगीत हेमन्ता भट्टराईको रहेको छ । भक्तपुरको गुन्डु मन्दिरमा छायांकन गरिएको गीतको रेकर्डिङ काठमाडौंस्थित मालाश्री रेकर्डिङ स्टुडियोमा गरिएको हो । गीतको एरेन्ज लोकप्रिय गायक, सर्जक तथा एरेन्जर बिनोद बाजुरेलीले गरेका छन् ।
गायिका हेमन्ता भट्टराईले हरेक वर्षझैँ यस वर्ष पनि दर्शक तथा श्रोताका लागि मौलिक तीज गीत लिएर आफूहरू आएको बताइन् । उनले गीतलाई माया गर्ने, सुझाव दिने तथा टिकटक र रिल्स बनाएर साथ, सहयोग र हौसला प्रदान गर्ने सबै शुभचिन्तकप्रति आभार व्यक्त गर्दै यस गीतले पनि विगतझैँ दर्शकको माया पाउने विश्वास व्यक्त गरेकी छन् ।
निर्माण पक्षले तीजको मौलिकता, पारिवारिक प्रेम र धार्मिक भावनालाई केन्द्रमा राखिएको गीतलाई दर्शक तथा श्रोताले माया गर्ने अपेक्षा गरेको छ ।

