धनगढी: सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपाका खगराज भट्टले ‘चुनौतिको भारीले थिचिएको’ अनुभूति भएको बताएका छन् । उनले चमत्कार गर्न सम्भव नभए पनि ‘राम्रो’ गर्न कोसिस गर्ने बताए । नेकपा एमालेको समर्थनमा उनले आज मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । लगत्तै प्रदेश प्रमुख नजिर मियाँले उनलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री नियुक्त भएपछि दूबोको माला लगाएर पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले सुदूरपश्चिमका २७ लाख जनताको नेतृत्व गर्ने अवसर पाउँदा खुसी लागेको बताए । सँगै उनले भने, ‘म खुसी नै छु । खुसी भन्दा बढी जिम्मेवारीवोध र अलि बढी चुनौतिको भारीले म थिचिएको अनुभव पनि सँगसँगै गरेको छु ।’ उनले सुदूरपश्चिमेली जनतालाई केन्द्रमा राखेर काम गर्ने बताए ।
‘धेरै चमत्कार त सम्भव हुँदैन, जे गर्ने छु राम्रो गर्नेछु । र मान्छेलाई राम्रो गर्यो भन्ने अनुभूति दिलाउन प्रयास गर्ने छु,’ उनले भने ।

