धनगढी: सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता खगराज भट्ट नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नेकपा र नेकपा एमालेको समर्थनसहित भट्टले शुक्रबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीमा नियुक्त भएपछि भट्टले आफूमा थप जिम्मेवारीबोध भएको बताउनुभएको छ । उहाँले सुदूरपश्चिमको राजनीतिक निकाससँगै प्रदेशको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो ।
यसअघि मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । शाहले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो । मुख्यमन्त्री भट्टको शपथ ग्रहण शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको छ ।
मुख्यमन्त्रीमा नियुक्त भएसँगै भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको नेकपाका नेताहरूले बताएका छन् । सुदूरपश्चिममा नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँट यसअघि नै टुंगो लागिसकेको बताइएको छ । सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउनेछ ।

