धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाले अव्यवस्थित बसोबासीलाई जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । नगरपालिकाको वडा नम्बर १ स्थित बसपार्क क्षेत्र र वडा नम्बर ४ को भल्का क्षेत्रका करिब पाँच सय अव्यवस्थित बसोबासीको लालपुर्जा वितरणसम्बन्धी काम अन्तिम चरणमा पुगेको छ ।
लम्कीचुहा नगरपालिका भूमि सेवा केन्द्रका संयोजक वीरेन्द्र शाहीका अनुसार जेनजी आन्दोलनअघि नै नगरपालिकाबाट गर्नुपर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेर ५५ जनाको फाइल राजस्व निर्धारणका लागि जिल्लामा पठाइएको थियो । २०८२ भदौ २३ गते भएको जेनजी आन्दोलनपछि प्रक्रिया रोकिएको थियो । उनले हाल केन्द्रदेखि जिल्लासम्म नयाँ संयन्त्रलाई जिम्मेवारी तोकेर काम पुनः सुरु गरिएपछि प्रक्रियामा रहेका फाइललाई समेत अघि बढाइएको बताए ।
उनका अनुसार भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान, प्रमाणीकरणको आधार र मापदण्ड २०८३ को अनुसूची १ र २ तथा भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलनसम्बन्धी कार्यविधि २०८३, को दफा ७ को उपदफा ३ ९छ० मा उल्लेखितबमोजिमका कागजातसहितको विवरण स्थानीय भूमि शाखामा प्रमाणीकरण भइरहेको छ । अपुग कागजात सूचना जारी गरेर सङ्कलन भइरहेको उल्लेख गर्दै उनले प्रमाणीकरण सकिनेबित्तिकै भूमि समस्या समाधान समिति कैलालीमा पठाउने बताए ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भूमि समस्या समाधान समिति रहेको छ । जसको सदस्यसचिव नापी कार्यालय प्रमुख रहने व्यवस्था छ । समितिले स्थानीय तहबाट पठाइएका फाइल अध्ययन गरेर राजस्व निर्धारण गर्ने तयारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक हिरालाल रेग्मीले लम्कीचुहाबाट सुरुमा २५५ वटा अव्यवस्थित बसोबासीसम्बन्धी फाइल पहिला आए पनि केही समय काम रोकिएका कारण प्रक्रियामा रहेकाले बाँकी फाइल आएपछि ४९६ वटा फाइलको काम एकै पटक अघि बढाइने बताए ।
लम्कीचुहा नगरपालिकामा भूमिहीन दलित, अव्यवस्थित बसोबासी तथा सुकुमवासी गरेर १८ हजारभन्दा बढीले लालपुर्जाका लागि फाराम भरेका छन् । तीमध्ये १३९ भूमिहीन दलितले यसअघि नै रातो लालपुर्जा प्राप्त गरिसकेका छन् । लालपुर्जा प्राप्त गर्नेमा वडा नम्बर १ का नौ जना र वडा नम्बर ३ बलचौरका १३० जना बादी समुदायका रहेका छन् । भूमि समस्या समाधान केन्द्रीय समितिका अनुसार हालसम्म देशभर नौ हजार ९३७ वटा जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । जसमध्ये २०८३ सालयता १०९ जनाले प्रमाणपुर्जा लिएको समितिले उल्लेख गरेको तथ्याङ्कमा रहेको छ ।

