धनगढी । देशभर एलपी ग्याँसको अभाव देखिएसँगै त्यसको प्रभाव कैलालीमा पनि परेको छ । जिल्लाका केही ग्याँस डिलरमा भरिएका सिलिण्डर पाउन समस्या भए पनि केही डिलरमा भने पर्याप्त ग्याँस मौज्दात रहेको पाइएको छ । विगतको तुलनामा ग्याँसको आपूर्ति बढेको दाबी गरिए पनि बजारमा अभाव देखिएपछि उपभोक्ता भने ग्याँसको खोजीमा भौँतारिनुपर्ने अवस्था देखिएको छ । बजारमा ग्याँस अभाव देखिएपछि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय कैलाली, नेपाल आयल निगम, नेपाल प्रहरीलगायतको टोलीले सोमबार धनगढी बजारमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा केही डिलरमा भरिएका सिलिण्डर भेटिए भने अधिकांश बिक्रेताकहाँ खाली सिलिण्डर मात्रै भेटिएका थिए ।
अनुगमन टोलीले ग्याँसको आपूर्ति, मौज्दात तथा बिक्री वितरणको अवस्थाबारे बिक्रेतासँग जानकारी लिएको थियो । बिक्रेताहरूले विगतकै अनुपातमा उद्योगबाट ग्याँस आइरहेको भए पनि अहिले माग अत्यधिक बढेका कारण बजारमा अभाव देखिएको बताएका छन् । ग्याँस बिक्रेताका अनुसार पछिल्लो समय धनगढीका विभिन्न क्षेत्रबाट मात्रै नभई आसपासका क्षेत्रबाट समेत उपभोक्ता ग्याँस खरिद गर्न आउने गरेका छन् । यसअघि सीमित ग्राहकलाई सहज रूपमा ग्याँस बिक्री गर्दै आएका डिलरमा अहिले ग्राहकको संख्या उल्लेख्य बढेको उनीहरूको भनाइ छ ।
माग बढ्दा डिलरमा चाप
ग्याँस आपूर्तिकर्ता जीवन ऐडीका अनुसार उद्योगबाट विगतकै अनुपातमा ग्याँस आइरहेको छ । तर, अहिले ग्राहकको संख्या बढेकाले डिलरमा चाप परेको हो । उनका अनुसार विगतमा सीमित क्षेत्रका उपभोक्ता मात्रै ग्याँस खरिद गर्न आउने गरेकामा अहिले मनेहरादेखि धुर्जन्नासम्मका उपभोक्ता ग्याँस लिन आउने गरेका छन् । ग्राहकको संख्या दोब्बरजस्तै भएपछि आपूर्ति पर्याप्त हुँदाहुँदै पनि सबैलाई तत्काल ग्याँस उपलब्ध गराउन समस्या भइरहेको उनको भनाइ छ ।
ऐडीका अनुसार अभाव देखिनुको अर्को कारण केही उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिण्डर घरमै भण्डारण गर्नु पनि हो । ठूला घरपरिवार तथा आर्थिक रूपमा सक्षम केही उपभोक्ताले चार–पाँच वटासम्म सिलिण्डर भण्डारण गरेर राख्दा घरमा एउटा मात्रै सिलिण्डर राख्ने विद्यार्थी तथा सामान्य परिवारका उपभोक्ता समस्यामा परेको उनले बताए ।
उनले भने, “उद्योगबाट विगतकै अनुपातमा ग्याँस आइरहेको छ । तर ग्राहकको संख्या धेरै बढेको छ । केहीले चार–पाँच वटासम्म सिलिण्डर भण्डारण गरेर राख्दा एउटा सिलिण्डर मात्रै राख्ने उपभोक्ता समस्यामा परेका छन् ।” अर्का ग्याँस आपूर्तिकर्ता धुर्वे ओझाका अनुसार पछिल्लो समय कैलालीबाट खरिद गरिएका ग्याँस सिलिण्डर काठमाडौंसम्म पठाउने क्रमसमेत बढेको छ ।
उनका अनुसार कतिपय व्यक्तिले कैलालीबाट ग्याँस सिलिण्डर खरिद गरी काठमाडौंसम्म पठाउने गरेका छन् । यसले स्थानीय बजारमा ग्याँसको माग थप बढाएको उनको भनाइ छ । ओझाले आफूले नियमित रूपमा ग्याँस बिक्री गरिरहेको भए पनि आवश्यकताभन्दा बढी ग्याँस भण्डारण गर्ने उद्देश्यले आउने ग्राहकलाई ग्याँस बिक्री नगर्ने गरेको बताए । उनले भने, “म नियमित रूपमा ग्याँस बिक्री गरिरहेको छु । तर अभाव भयो भनेर भण्डारण गर्न ग्याँस लिन आउनेलाई बिक्री गर्दिनँ ।”
यसले कैलालीमा देखिएको ग्याँस अभाव स्थानीय उपभोगको मागसँग मात्रै सम्बन्धित नभई अन्यत्र पठाउने तथा भण्डारण गर्ने प्रवृत्तिसँग समेत जोडिएको देखाएको छ ।
आपूर्ति भने बढेको निगमको दाबी
बजारमा ग्याँस अभाव देखिए पनि नेपाल आयल निगमले भने आपूर्तिमा कुनै समस्या नरहेको दाबी गरेको छ । नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार विगतको तुलनामा यस वर्ष २० प्रतिशत बढी ग्याँस आपूर्ति भएको छ । कार्यालयका अनुसार सुदूरपश्चिममा मासिक करिब एक लाख सिलिण्डर ग्याँस बिक्री हुने गरेकोमा यस वर्ष पाँच दिन अगावै एक लाख २० हजार सिलिण्डर बिक्री भइसकेका छन् । थप ५० हजार सिलिण्डर ग्याँस आउने क्रममा रहेकाले तत्काल ग्याँस अभाव नहुने निगमको भनाइ छ ।
नेपाल आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मनोहर डि.सी.का अनुसार भारतबाट ग्याँस सहज रूपमा आयात भइरहेको छ । विगतको तुलनामा आयात बढेको अवस्थामा समेत बजारमा अभाव देखिनु उपभोक्ताको बढ्दो मागसँग सम्बन्धित रहेको उनको भनाइ छ । उनले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्याँस नलिन आग्रह गर्दै आपूर्तिमा समस्या नरहेको बताए । “भारतबाट सहजै ग्याँस आयात भइरहेको छ । आपूर्तिमा कुनै समस्या छैन । उपभोक्ताले बढी ग्याँस लगेर भण्डारण नगर्नुहोस्, ढुक्क भएर बस्दा हुन्छ,” उनले भने ।
अनुगमनमा कृत्रिम अभाव भेटिएन
बजारमा ग्याँसको अभाव भएको गुनासो बढेपछि जिल्ला अनुगमन समितिले धनगढीका विभिन्न डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा ग्याँसको कृत्रिम अभाव सिर्जना गरिएको वा बिक्रेताले ग्याँस लुकाएर राखेको अवस्था भने फेला नपरेको समितिले जनाएको छ । केही डिलरमा भरिएका सिलिण्डर भेटिए पनि अधिकांश बिक्रेताकहाँ खाली सिलिण्डर मात्रै भेटिनुले मागअनुसार तत्काल बिक्री गर्न नसक्ने अवस्था रहेको देखिएको अनुगमन समितिको भनाइ छ ।
समितिका अनुसार उद्योगबाट ग्याँस नियमित रूपमा आइरहेको अवस्थामा उपभोक्ताले एकैपटक धेरै सिलिण्डर खरिद गरी घरमा भण्डारण गर्दा बजारमा अभावको अनुभूति भएको हो । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले ग्याँसको वास्तविक अवस्था बुझ्न दिनभर व्यापक बजार अनुगमन गरिएको बताए । उनका अनुसार अनुगमनका क्रममा कृत्रिम अभाव सिर्जना गरेको ठोस प्रमाण भेटिएन । “कतै समस्या छ कि भनेर हामीले दिनभर व्यापक अनुगमन गरेका थियौँ । तर त्यस्तो समस्या भेटिएन । अब उपभोक्ता नै सचेत बन्नुपर्ने देखियो । आवश्यकताभन्दा बढी ग्याँस भण्डारण नगरे मात्रै यो समस्या समाधान हुन्छ,” खत्रीले भने ।
एउटै परिवारले धेरै सिलिण्डर राख्दा समस्या
बजारमा देखिएको अवस्थाले एउटा महत्वपूर्ण समस्या भने उजागर गरेको छ । आपूर्ति पर्याप्त हुँदाहुँदै पनि केही उपभोक्ताले घरमा आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण गर्दा नियमित रूपमा एउटा सिलिण्डर प्रयोग गर्ने उपभोक्ता ग्याँस पाउनबाट वञ्चित हुने अवस्था देखिएको छ । विशेषगरी विद्यार्थी, डेरा गरी बस्ने तथा न्यून आय भएका परिवारले एकपटकमा एउटा सिलिण्डर मात्रै खरिद गर्ने गरेका छन् । तर केही उपभोक्ताले भविष्यमा अभाव हुने डरले तीनदेखि पाँच वटासम्म सिलिण्डर भण्डारण गर्दा बजारमा उपलब्ध सिलिण्डरको संख्या घट्ने र मागअनुसार तत्काल वितरण गर्न समस्या हुने गरेको व्यवसायीहरूको भनाइ छ ।
अभावको हल्ला चलेपछि थप अभाव हुने डरले उपभोक्ताले ग्याँस थुपार्ने र त्यसकै कारण बजारमा वास्तविक अभाव सिर्जना हुने जोखिमसमेत देखिएको छ । यस्तो प्रवृत्तिले अभावलाई झनै बढावा दिने भएकाले उपभोक्ता स्वयं सचेत हुनुपर्ने देखिन्छ । कैलालीमा देखिएको ग्याँस अभावले आपूर्ति मात्र पर्याप्त भएर बजार सहज नहुने पनि देखाएको छ । ग्याँसको आयात तथा आपूर्ति बढेको भए पनि त्यसको समानुपातिक वितरण हुन नसके बजारमा अभावको अनुभूति हुन सक्छ ।
त्यसैले निगम, ग्याँस उद्योग, डिलर, स्थानीय प्रशासन र उपभोक्ताबीच प्रभावकारी समन्वय आवश्यक देखिएको छ । विशेषगरी एउटै व्यक्तिले अस्वाभाविक रूपमा धेरै सिलिण्डर खरिद गर्ने अवस्था रोक्ने, डिलरमा आउने ग्याँसको पारदर्शी वितरण गर्ने तथा वास्तविक अभाव भएको स्थानमा तत्काल आपूर्ति बढाउने व्यवस्था गर्नुपर्ने देखिन्छ ।
अभावभन्दा ‘अभावको मनोविज्ञान’ ठूलो समस्या
कैलालीमा अहिले देखिएको अवस्थालाई हेर्दा ग्याँसको आपूर्ति नै रोकिएको अवस्था देखिँदैन । बरु आपूर्ति बढेको अवस्थामा समेत उपभोक्ताको माग अस्वाभाविक रूपमा बढेको र केहीले आवश्यकताभन्दा बढी ग्याँस भण्डारण गर्दा बजारमा अभाव देखिएको देखिन्छ । अभावको हल्लाले उपभोक्तामा थप ग्याँस जम्मा गर्ने मनोविज्ञान विकास गर्दा समस्या झनै जटिल बन्न सक्छ । त्यसैले उपभोक्ताले आवश्यकता अनुसार मात्रै ग्याँस खरिद गर्ने, बिक्रेताले समानुपातिक रूपमा वितरण गर्ने र सरकारी निकायले नियमित अनुगमन तथा आपूर्तिको प्रभावकारी व्यवस्थापन गर्ने हो भने कैलालीमा देखिएको ग्याँस अभाव सहजै समाधान गर्न सकिने देखिन्छ ।
अहिलेको मुख्य चुनौती ग्याँसको आपूर्ति बढाउनु मात्रै नभई उपलब्ध ग्याँसको समान र व्यवस्थित वितरण गर्नु तथा उपभोक्तामा रहेको अभावको डर हटाउनु हो । उपभोक्ताले घरमा थुपारेर राखेको सिलिण्डर बजारमा नियमित रूपमा चल्न थाले बजारमा देखिएको चापसमेत कम हुने र सबै उपभोक्ताले सहज रूपमा ग्याँस पाउने अवस्था बन्न सक्छ ।

