धनगढी । धनगढीमा रहेको शुभारम्भ मन्टेश्वरी स्कुलले बालबालिकाको आँखाको स्वास्थ्यलाई ध्यानमा राख्दै एकदिने आँखा शिविरको आयोजना गरेको छ। पछिल्लो समय बालबालिकामा मोबाइल, ट्याबलेट तथा अन्य डिजिटल उपकरणको प्रयोग बढ्दै गइरहेका बेला उनीहरूको आँखाको नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको भन्दै विद्यालयले आँखा शिविर सञ्चालन गरेको हो।
धनगढीस्थित प्रविन चस्मा सेन्टरको सहकार्यमा आयोजित शिविरमा मन्टेश्वरीमा अध्ययनरत बालबालिकाहरूको आँखाको चेकजाँच तथा स्वास्थ्य परीक्षण गरिएको विद्यालयका सञ्चालक मोहन ओझाले जानकारी दिए।
बालबालिकाहरूमा पछिल्लो समय मोबाइल तथा डिजिटल उपकरणको प्रयोग अत्यधिक बढिरहेको र लामो समयसम्म स्क्रिनमा बिताउँदा आँखामा विभिन्न समस्या देखिन सक्ने भएकाले समयमै सचेतना अपनाउन शिविर आयोजना गरिएको ओझाले बताए।
“बालबालिकाहरू सानै उमेरदेखि मोबाइलमा धेरै समय बिताउन थालेका छन्। यसको प्रत्यक्ष असर उनीहरूको आँखामा पर्न सक्ने भएकाले सुरुवाती अवस्थामै आँखाको अवस्था पहिचान गर्न चेकजाँच आवश्यक ठानेर शिविर आयोजना गरेका हौँ,” सञ्चालक ओझाले भने।
शिविरमा बालबालिकाहरूको आँखाको अवस्था परीक्षण गर्नुका साथै आँखाको हेरचाह, मोबाइल तथा डिजिटल उपकरण प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी र नियमित रूपमा आँखा परीक्षण गराउनुपर्ने विषयमा समेत जानकारी प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालयले बालबालिकाको शैक्षिक विकाससँगै उनीहरूको स्वास्थ्य र सुरक्षालाई पनि प्राथमिकतामा राख्दै यस्ता स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने विद्यालयका प्रार्चाय जानकी भट्टले जानकारी दिनुभयो ।
विशेषगरी सानै उमेरमा मोबाइल तथा अन्य विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्ने बालबालिकामा आँखाको थकान, टाढाको वस्तु स्पष्ट नदेखिने तथा दृष्टिसम्बन्धी अन्य समस्या देखिन सक्ने भएकाले अभिभावकले पनि बालबालिकाको स्क्रिन समय व्यवस्थापनमा ध्यान दिनुपर्नेमा विद्यालयले जोड दिएको छ।
विद्यालयमा आयोजना गरिएको उक्त आँखा शिविरले बालबालिकाको स्वास्थ्यप्रति विद्यालय, अभिभावक तथा सरोकारवाला सबैलाई थप सचेत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

