धनगढी । धनगढीकी २३ वर्षीया पूजा धानुकको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान जारी राखेको छ। घटनाको आठ दिनपछि परिवारले सोमबार पूजाको शव उठाएर दाहसंस्कार गरेका छन्। यद्यपि, घटनाको सत्यतथ्य खुलाउने मुख्य आधार मानिएको पोस्टमार्टम रिपोर्ट भने अझै आएको छैन।
प्रहरीका अनुसार पूजाको विवाह करिब छ महिनाअघि कञ्चनपुरको बेदकोट नगरपालिका–१, हातीथलाकीबाट धनगढी उपमहानगरपालिका–४, न्युरोड टोलका ३१ वर्षीय भरत धामीसँग भएको थियो। साउन ११ गते उनी आफ्नै घरमा सिलिङको पङ्खामा साडीको पासो लगाएको अवस्थामा फेला परेकी थिइन्। उपचारका लागि नवजीवन अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनापछि पूजाका माइती पक्षले हत्या भएको दाबी गर्दै श्रीमान्, बाजे, बज्यै, फुपू र नन्दविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले पाँचै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घटनापछि दोस्रो दिनदेखि नै पूजाका माइती पक्षले न्यायको माग गर्दै दैनिक चारदेखि पाँच घण्टासम्म जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलगायत विभिन्न सरकारी निकाय अगाडि धर्ना, प्रदर्शन र नाराबाजी गर्दै आएका थिए। उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका थिए।
यसैबीच, दुवै पक्षबिच सहमति भएपछि सोमबार आठ दिनदेखि सेती प्रादेशिक अस्पतालमा राखिएको शव परिवारले बुझेर दाहसंस्कार गरेको पारिवारिक स्रोतले जनाएको छ। यद्यपि, सहमतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता योगेन्द्रप्रसाद तिमिल्सिनाले पोस्टमार्टम रिपोर्ट अझै प्राप्त नभएको बताए।
‘अहिलेसम्म पोस्टमार्टम रिपोर्ट आएको छैन। अनुसन्धानको काम निरन्तर भइरहेको छ। पोस्टमार्टम रिपोर्ट आउन कहिलेकाहीँ केही दिन लाग्न सक्छ, कतिपय अवस्थामा एक महिना पनि लाग्न सक्छ। अहिले हामी त्यसैको पर्खाइमा छौँ ।’ प्रहरीका अनुसार अनुसन्धान अहिले पनि जारी छ।

