महेन्द्रनगर: सशस्त्र प्रहरीले सीमावर्ती कञ्चनपुरमा भन्सार राजस्व चोरीछली पैठारीका अवैध समान बरामद गर्दै आएको छ । सीमा सुरक्षा, अपराध राजस्व छली नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणले साढे एक वर्षको अवधिमा साढे ११ करोडभन्दा बढीका सामान र तस्करीमा प्रयोग भएका सवारीसाधन बरामद गरेको हो ।
तस्करीमा संलग्न भएका साइकल, मोटसाइकल, स्कुटी, जिपकार, ट्याक्टरसमेत बरामद गरेर भन्सार चलान गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०८२/०८३ मा ११ करोड ७२ लाख २५ हजार ३३४ रुपैयाँबराबरका अवैध समान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणहेक्वा शैलेश्वरीका गणपति (एसपी) प्रेमप्रकाश सिग्देलले भारतबाट भन्सार राजस्व चोरीछलीका सामान मात्रै बरामद नभई सशस्त्र प्रहरीले लागुऔषध नियन्त्रण, विपतमा परेका मानिसको उद्धार, सीमास्तम्भको संरक्षणसहितका विविध सामाजिक काम गरेको बताए।
उनका अनुसार गत वर्ष सशस्त्र प्रहरीले एक नाल भरुवा बन्दुक, ५० लागुऔषधसहितका तस्कर समूह पक्राउ गरिएको बताए। यसबिचमा ४१ मानिसको उद्धार, १० शवको खोजी गरिएको थियो । सीमा सुरक्षा एव अपराध नियन्त्रणका लागि समकक्षी भारतीय सीमा सुरक्षा बल ९एसएबी०सँग समन्वयात्मक बैठकदेखि पाँच सयपटक संयुक्त गस्ती गरिएका छन् । सशस्त्र प्रहरीले एक्लै १३ सीमास्तम्भको मर्मत, रंगरोगन, संयुक्त सीमा सर्भे टिमसँग ५२ सीमास्तम्भहरूको मर्मत, तीन नयाँ निर्माण र चार सीमास्तम्भको पुनर्निर्माण गरिएको थियो ।

