धनगढी — नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा दिवङ्गत पर्वतारोहीहरूको सम्झनामा विशेष श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। मंगलबार बिहान ६ बजेदेखि ७ बजेसम्म धनगढीस्थित एल।एन। चोकको फ्ल्याटल्याण्ड फुटसल ग्राउण्डमा आयोजित कार्यक्रममा नेपालका विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा (निम्सदाइ) सहित पाकिस्तानको ब्रोड पीक हिमाल आरोहणका क्रममा वीरगति प्राप्त गरेका पूर्वबहादुर गुरुङ, युक्त किलिपेम्बा शेर्पा, निमा शेर्पा, ग्याल्जे शेर्पा, नवाङ थिङ्गु शेर्पालगायत सम्पूर्ण दिवङ्गत आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले दिवङ्गत आरोहीहरूले नेपालको पर्वतारोहण तथा पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन पुर्याएको अतुलनीय योगदान, साहस, समर्पण र प्रेरणाको सम्मानपूर्वक स्मरण गर्दै उनीहरूको आत्माको चिरशान्तिको कामना गरेका थिए। नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष पदम विक्रम सिंहले श्रद्धाञ्जली कार्यक्रममा उपस्थित भई दिवङ्गत आरोहीहरूप्रति सम्मान प्रकट गर्ने सम्पूर्ण पर्यटन व्यवसायी, पर्वतारोहणप्रेमी, खेलप्रेमी, शुभेच्छुक, सहकार्यकर्ता बुद्ध एयर धनगढी, होटल व्यवसायी संघ कैलाली तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरे।
उनले यस्ता कार्यक्रमले नेपालको पर्वतारोहण क्षेत्रका वीर आरोहीहरूको योगदानलाई भावी पुस्तासम्म पुर्याउन तथा पर्यटन क्षेत्रप्रति सम्मान र प्रेरणा जगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

