धनगढी: हरेक वर्ष साउन १५ गते मनाइने राष्ट्रिय खिर दिवस नेपाली समाजको मौलिक संस्कृति र दुग्धजन्य परिकारको महत्वसँग जोडिएको पर्वका रूपमा लिइन्छ। यस अवसरमा देशभर घरघरमा खिर बनाएर खाने तथा आफन्त, इष्टमित्र र छोरीचेलीलाई बोलाएर सामूहिक रूपमा खिर खुवाउने परम्परा रहिआएको छ। राष्ट्रिय खिर दिवसको पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएशन सुदूरपश्चिम प्रदेशले धनगढीमा विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको छ।
कार्यक्रममा सहभागीहरूले पछिल्लो समय बजारमा पाइने विभिन्न कार्बोनेटेड तथा कृत्रिम पेय पदार्थको बढ्दो प्रयोगले जनस्वास्थ्यमा नकारात्मक असर पारिरहेको भन्दै त्यसको विकल्पका रूपमा दूध, दही, खिर, मोहीलगायत दुग्धजन्य पदार्थको नियमित उपभोग गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूका अनुसार दुग्धजन्य पदार्थको प्रयोगले स्वस्थ शरीर निर्माण हुनुका साथै स्वदेशमै उत्पादन हुने दूधको बजारीकरण र डेरी व्यवसायको विकासमा समेत महत्वपूर्ण योगदान पुग्नेछ।
नेपाल डेरी एसोसिएशनका अनुसार साउन महिनामा खेतीपातीको मुख्य काम सकिने, वर्षायामका कारण हरियाली बढ्ने र पशुचौपायाका लागि प्रशस्त घाँस उपलब्ध हुने भएकाले गाईभैंसीले अन्य समयको तुलनामा बढी दूध उत्पादन गर्छन्। दूधको उत्पादन बढ्ने यही समयलाई सदुपयोग गर्दै परिवार, आफन्त र चेलीबेटीलाई घरमा निम्त्याएर खिर खुवाउने परम्परा विकास भएको विश्वास गरिन्छ।
एसोसिएशनका प्रदेश अध्यक्ष भुपेन्द्र थापाले दूध, दही, खिरलगायत दुग्धजन्य परिकारमा शरीरलाई आवश्यक पर्ने प्रोटिन, क्याल्सियम, भिटामिन र अन्य पोषक तत्व प्रशस्त मात्रामा पाइने भएकाले यसको नियमित सेवनले बालबालिकादेखि वृद्धवृद्धासम्म सबै उमेर समूहका मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने बताए। उनले आयातित तथा कृत्रिम पेय पदार्थभन्दा स्वदेशी दुग्धजन्य उत्पादनको प्रयोग बढाउन सके किसान, डेरी उद्योग र समग्र राष्ट्रिय अर्थतन्त्रलाई समेत फाइदा पुग्ने उल्लेख गरे।
नेपालको खाद्य नियमावलीअनुसार मानक प्रशोधित दूधमा ३ प्रतिशत चिल्लो, ४.७ प्रतिशत ल्याक्टोज र ३.५ प्रतिशत प्रोटिन हुन्छ। प्रति १०० ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी ऊर्जा प्राप्त हुने जनाइएको छ। स्वास्थ्य विज्ञका अनुसार दूधमा पाइने क्याल्सियम, प्रोटिन र अन्य पोषक तत्वले हड्डी तथा दाँत मजबुत बनाउने, शरीरको वृद्धि तथा विकासमा सहयोग गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ।
कार्यक्रममा वक्ताहरूले पछिल्लो समय युवापुस्तामा कृत्रिम तथा चिनीको मात्रा बढी भएका पेय पदार्थको प्रयोग बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै स्वस्थ जीवनशैली अपनाउन दुग्धजन्य पदार्थको नियमित सेवन गर्न सबैलाई आग्रह गरेका छन्। साथै, स्वदेशी डेरी उद्योगको संरक्षण र किसानको उत्पादनको उचित मूल्य सुनिश्चित गर्न पनि दुग्धजन्य पदार्थको उपभोग बढाउन आवश्यक रहेको उनीहरूको भनाइ छ।
नेपाली समाजमा असार १५ मा दही–च्यूरा, साउन १५ मा खिर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे तथा माघ १५ मा मालपुवालगायत परिकार बनाएर इष्टमित्र र छोरीचेलीलाई बोलाई सामूहिक रूपमा खाने सांस्कृतिक परम्परा रहिआएको छ। यस्ता पर्वले नेपाली मौलिक संस्कृति संरक्षण गर्नुका साथै स्थानीय कृषि उत्पादन र दुग्धजन्य पदार्थको महत्वलाई पनि उजागर गर्दै आएका छन्।

