कञ्चनपुर: साउन १४ गते । रासायनिक मलको खोजीमा यहाँका किसान दिनभर विभिन्न स्थानमा भौँतारिए पनि साँझ रित्तो हात फर्कन बाध्य छन् । गत असारमा धान रोपाइँ सकेर युरिया मल छर्कने बेलामा मल नै नपाउँदा किसान दिनहुँ कृषि सामग्री कम्पनी लिमिटेड, सहकारी संस्थामा भौँतारिन बाध्य छन् । भीमदत्त नगरपालिका–२ का कृषक गङ्गादेवी शाह एक सातादेखि मलको खोजीमा नजिकैको साना किसान सहकारी र महेन्द्रनगरस्थित कृषि सामग्री कम्पनी लिमिटेड नियमित धाइरहनुभएको छ । हालसम्म एक केजी युरिया मल नपाएपछि उहाँले दुई बिघामा लगाएको धानखेती नै खराब हुने भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले गुनासो गर्नुभयो, “साना किसान सहकारीले मल अभाव भन्दै उपलब्ध गराउन नमानेपछि जिल्लास्थित कार्यालयमा पुग्यौँ । त्यहाँ पनि मल पाइएन ।”
यहाँका किसान विगत एक सातादेखि मलको खोजीमा कृषि सामग्री कम्पनी लिमिटेडमा नियमित धाइरहेका छन् तर मल पर्याप्त नभएको भन्दै उपलब्ध नगराइँदा बुधबार उनीहरूले कार्यालय घेराउ गर्नुका साथै मल उपलब्ध गराउन माग गरे ।” बेलडाँडीका कृषक पनि पछिल्लो समय रासायनिक मलको खोजीका लागि कृषि सहकारी केन्द्रमा धाउँदै आएका छन् । धानबालीमा आवश्यक समयमा मल हाल्न नपाउँदा यस वर्ष लगाएको धानबाली खराब हुन चिन्ता बढेको बेलडाँडीका किसान रेनुका विष्टले गुनासो गर्नुभयो ।
कृषि सामाग्री कम्पनी लिमिटेडले भने विगतको तुलनामा यस वर्ष अत्यधिक मल कृषि सहकारीमार्फत वितरण गरिएको दाबी गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म चार हजार ९८९.५ मेट्रिक टन युरिया मल वितरण गरिएको कार्यालय प्रमुख हेमराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार साउनसम्म पुग्ने गरेर भीमदत्त नगरपालिकामा ९५९.३ मेट्रिक टन, वेदकोट नगरपालिकालाई ६९५.५ मेट्रिक टन, शुक्लाफाँटालाई ९२४.५ मेट्रिक टन, कृष्णपुरलाई १२३८.६५ मेट्रिक टन, दोधारा चाँदनीलाई ५११ मेट्रिक टन र बेलडाँडी गाउँपालिकालाई ५७२.२ मेट्रिक टन युरिया पठाइएको बताउनुभयो ।
यहाँका छ पालिकास्थित ९६ कृषि सहकारीमार्फत मल वितरण गरिएको कार्यालय प्रमुख जोशीले बताउनुभयो । अघिल्लो आवको तुलनामा गत आवमा दुई सय मेट्रिक टनभन्दा बढी मल आपूर्ति भए पनि कृषकको माग अत्यधिक देखिएकाले पु¥याउन नसकिएको उहाँको भनाइ छ ।
चालु आवको १२ दिनमा २४० मेक्टिक टन युरिया मल आएकाले अझै ६९.६ मेट्रिक टन मौज्दात रहेको कार्यालयका सूचना अधिकारी कृष्णबहादुर डिसीले जानकारी दिनुभयो । उहाँले अझै केही सहकारी सम्झौता गर्न नआएकाले केही दिनमै सो मल वितरण प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

