धनगढी: सुदूरपश्चिमका यात्रुलाई लक्षित गर्दै सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि. ले धनगढीदेखि नारायणगढ, मुग्लिङ हुँदै पोखरासम्म नयाँ बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले आफ्नो अत्याधुनिक ‘राज सफारी एक्सप्रेस’ बसमार्फत उक्त सेवा मगंलबारदेखि औपचारिक रूपमा सुरु गरेको हो। धनगढीमा आयोजित एक कार्यक्रमका बीच नयाँ रुटको शुभारम्भ गरिएको हो। कार्यक्रममा बोल्दै सुन्दर सुदूरपश्चिम यातायात प्रा.लि.का अध्यक्ष पदम सापकोटा ले यात्रुहरूको बढ्दो माग र सुविधालाई मध्यनजर गर्दै नयाँ सेवा सञ्चालनमा ल्याइएको बताए।
उनले पछिल्लो समय पोखरा, मुस्ताङ तथा मुक्तिनाथ दर्शनका लागि जाने यात्रुको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको भन्दै त्यसलाई सहज, सुरक्षित र गुणस्तरीय यात्रा सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ रुट विस्तार गरिएको जानकारी दिए। “पछिल्लो समय मुक्तिनाथ भ्रमण गर्ने दर्शनार्थीको संख्या निकै बढिरहेको छ। त्यसलाई पनि मध्यनजर गर्दै हामीले यो सेवा सुरु गरेका हौँ। निकट भविष्यमा यही बस सेवा बेनी र बागलुङसम्म पनि विस्तार गर्ने तयारी गरेका छौँ,” अध्यक्ष सापकोटाले भने।
उनले सुन्दर सुदूरपश्चिम यातायात आफ्नै पहिचान र विश्वास स्थापित गरिसकेको ब्रान्ड भएको उल्लेख गर्दै सेवा, सुरक्षा र यात्रुको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखिएको बताए। “हाम्रो उद्देश्य कसैसँग प्रतिस्पर्धा गर्नु होइन, गुणस्तरीय सेवा प्रदान गर्नु हो। यात्रुको आवश्यकतालाई केन्द्रमा राखेर हामीले विभिन्न ब्रान्डका आधुनिक बस सञ्चालन गरिरहेका छौँ,” उनले भने। सापकोटाले निकट भविष्यमा सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा समेत वातानुकूलित (एसी) बस सेवा विस्तार गर्ने योजना रहेको जानकारी दिए। यसबाट दुर्गम क्षेत्रका यात्रुले पनि सहज, आरामदायी र सुरक्षित यात्रा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि नेपाल यातायात व्यवसायी महासंघ सुदूरपश्चिम संयोजक टेकराज जोशी ले नयाँ रुट सञ्चालनले सुदूरपश्चिमका यात्रुलाई ठूलो राहत पुग्ने बताए। उनले निजी क्षेत्रले यात्रुको आवश्यकता अनुसार सेवा विस्तार गर्नु सकारात्मक पक्ष भएको उल्लेख गर्दै सुरक्षित र जिम्मेवार यातायात सेवा सञ्चालनमा जोड दिए। उनले पर्यटन, धार्मिक भ्रमण तथा व्यापारिक आवागमनलाई समेत यो सेवाले टेवा पुग्ने विश्वास व्यक्त गरे।
शुभारम्भ कार्यक्रममा यातायात व्यवसायी, मजदुर, सरोकारवाला तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ सेवा सञ्चालनसँगै धनगढीबाट नारायणगढ, मुग्लिङ हुँदै पोखरा पुग्ने यात्रुहरूले अब एउटै सुविधासम्पन्न बसमार्फत सहज यात्रा गर्न सक्ने भएका छन्। कम्पनीले आगामी दिनमा सेवा विस्तारसँगै यात्रुको सुविधालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ।

