कञ्चनपुर: कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ४ मालिका टोलस्थित महाकाली नदीको बीचमा फसेका एक व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । मंगलबार बिहान करिब ९:१५ बजे दोधारा चाँदनी ४ निवासी ४५ वर्षीय रामबहादुर सिंह पौडी खेल्न महाकाली नदीमा गएका बेला नदीको बहाव एक्कासि बढेपछि झोलुंगे पुलबाट करिब दुई किलोमिटर दक्षिण नदीको बीचमा फसेका थिए । पानीको सतह बढेसँगै उनी किनारमा फर्किन नसकेपछि स्थानीयले तत्काल सशस्त्र प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म देवीस्थानबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर महराको नेतृत्वमा १० सदस्यीय उद्धार टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । टोलीमा विपद् व्यवस्थापन तालिमप्राप्त पाँच जना सुरक्षाकर्मी, रबर बोट तथा आवश्यक उद्धार सामग्रीसमेत रहेको थियो ।
बिहान ९:२५ बजे घटनास्थल पुगेको उद्धार टोलीले नदीको तीव्र बहावबीच जोखिमपूर्ण ढंगले उद्धार अभियान सञ्चालन गर्दै करिब एक घण्टाको प्रयासपछि बिहान १०स्२० बजे रामबहादुर सिंहलाई सकुशल उद्धार गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ ।
उद्धारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक निगरानीका लागि परिवारजनको जिम्मा लगाइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

