धनगढी: सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा निरन्तर सरसफाइ अभियान सञ्चालन भइरहेको छ। विश्वविद्यालयका उपकुलपति डा. सुनिलकुमार जोशीको आह्वानमा सुरु भएको अभियानमा विभिन्न स्थानीय तह, विद्यालय, संघसंस्था तथा स्थानीय नागरिकको उत्साहजनक सहभागिता रहेको छ।
विश्वविद्यालय पूर्ण क्षमतामा सञ्चालनमा आउने विश्वासका साथ स्थानीयवासी स्वस्फूर्त रूपमा सरसफाइ अभियानमा जुटिरहेका छन्। धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आवश्यक जनशक्ति र सरसफाइ सामग्रीसहित अभियानमा सहयोग गरेका छन्।
मंगलबार गोदावरी नगरपालिकाको समन्वयमा विभिन्न संघसंस्थाले विश्वविद्यालय परिसरमा वृहत् सरसफाइ गरेका थिए। उक्त कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। विश्वविद्यालय सञ्चालनको तयारीसँगै भइरहेको सरसफाइ अभियानले परिसरलाई व्यवस्थित र स्वच्छ बनाउनुका साथै स्थानीय समुदायमा विश्वविद्यालयप्रतिको अपनत्व र उत्साह समेत बढाएको सहभागीहरूले बताएका छन्।

