धनगढी: धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) ले कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिकसत्रदेखि अध्यापन सुरु नभए आफू पनि अनशन बस्ने चेतावनी दिएका छन् । डडेल्धुरा जाने क्रममा डोटीको बुडरबाट सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै हमालले यस्तो बताएका हुन् । ‘यो शैक्षिकसत्रदेखि पढाइ सुरु भएन भने म गोपी हमाल पनि अनशनमा बस्छु,’ उनले भने, ‘त्यो अनशनमा को–को सुदूरपश्चिमवासीले साथ दिनुहन्छ ? तयार हुनुहोस् ।’
हमालले अनशन आन्दोलनको नेतृत्व गर्न आफू तयार रहेको पनि बताए । गेटामा अस्पताल र मेडिकल शिक्षाको अध्यापनको सपना वर्षाैंपछि पूरा हुने अपेक्षा रहेको बताउँदै उनले पदाधिकारी को रहन्छ भन्ने विषयमा सुदूरपश्चिमवासीको सरोकार नभएको बताए । ‘एक पुस्ता गइसक्यो, एक पुस्तापछि पढाइ सुरु हुन्छ भन्ने अपेक्षा थियो,’ उनले भने, ‘पदाधिकारी को रहन्छ सरोकार छैन । अस्पताल र पढाइ सुरु हुनुपर्छ ।’

