कैलाली: शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना संघर्ष समितिले डा. गोविन्द केसीले विश्वविद्यालयबारे दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ।
शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमा समितिले सुदूरपश्चिमका नागरिकले तीन दशकभन्दा लामो संघर्ष, त्याग र समर्पणपछि गोदावरी नगरपालिका–५, कैलालीमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको अन्तिम चरणमा पुगेको उल्लेख गरेको छ। समितिले यस उपलब्धिलाई सुदूरपश्चिमेली जनताको ऐतिहासिक सफलता भएको जनाएको छ।
विज्ञप्तिमा डा. केसीले धनगढीमा आयोजित पत्रकार सम्मेलन तथा सत्याग्रहका क्रममा विश्वविद्यालयको आवश्यकता र सञ्चालनबारे दिएको अभिव्यक्तिले सुदूरपश्चिमेली जनताको भावना, त्याग र लामो संघर्षको अवमूल्यन गरेको आरोप लगाइएको छ। समितिले विगतदेखि नै डा. केसीबाट विश्वविद्यालय स्थापनाको विषयमा पटक–पटक नकारात्मक टिप्पणी आएको दाबी गरेको छ।
समितिले डा. केसीले उठाएका केही विषयप्रति भने सम्बन्धित निकायले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने जनाएको छ। विशेषगरी उपकुलपति तथा रजिष्ट्रार नियुक्ति चिकित्सा शिक्षा ऐन, २०७५ अनुरूप भए वा नभएको विषयमा आधिकारिक जानकारी सार्वजनिक गर्न र विश्वविद्यालय सञ्चालनमा देखिएका अन्योल हटाउन सरकारसँग माग गरिएको छ।
त्यस्तै, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विश्वविद्यालयसम्बन्धी अपुष्ट तथा भ्रामक सामग्री प्रकाशित र प्रसारित भएको भन्दै संघर्ष समितिले तथ्यमा आधारित, जिम्मेवार र सन्तुलित समाचार सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ।
प्रेस विज्ञप्तिमा विश्वविद्यालय सञ्चालनका विषयमा देखिएका अन्योल तत्काल अन्त्य गरी सुदूरपश्चिमेली जनतामा फैलिएको भ्रम हटाउन सम्बन्धित निकायसँग समेत अनुरोध गरिएको छ।

