धनगढी: बिना हेल्मेट मोटरसाइकल चलाएको भिडियो सार्वजनिक भएपछि टिकटकर तथा सशस्त्र प्रहरी जवान हरिस कार्की (ह्यारी) ट्राफिक कारबाहीमा परेका छन्।
केही दिनअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा कार्कीले बिना हेल्मेट मोटरसाइकल चलाएको देखिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीले उनलाई कारबाही गरेको हो।
कार्की जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीमा स्वयं उपस्थित भई ट्राफिक नियम उल्लंघन गरेको स्वीकार गर्दै ५ सय रुपैयाँ जरिवाना तिरेका हुन्।
ट्राफिक प्रहरीले सवारी चालकलाई अनिवार्य रूपमा हेल्मेट लगाएर मात्र मोटरसाइकल चलाउन आग्रह गर्दै ट्राफिक नियम उल्लंघन गर्ने जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिने जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक सामग्रीका आधारमा पनि ट्राफिक नियम उल्लंघनका घटनामाथि निगरानी गरी आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ। कार्की सशस्त्र प्रहरीका जवान समेत हुन् ।

