धनगढी— चिकित्सा शिक्षा सुधारको माग राख्दै पटक–पटक आमरण अनशन गर्दै आएका डा. गोविन्द केसी आज (बिहीबार) देखि धनगढीमा फेरि अनशन बस्ने भएका छन्। बुधबार धनगढी पुगेका डा. केसीले दिउँसो ३ बजेदेखि धनगढी–१ स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन सुरु गर्ने कार्यक्रम रहेको उनका सहयोगी डा. अमृत जैशीले जानकारी दिए। अनशन सुरु गर्नुअघि पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने तयारी पनि गरिएको छ।
यसपटकको अनशनले भने सुदूरपश्चिममा नयाँ बहस सिर्जना गरेको छ। सरकारले गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको प्रक्रिया अघि बढाइरहेका बेला डा. केसीले त्यससम्बन्धी ऐन र नियुक्तिमाथि प्रश्न उठाएपछि स्थानीय स्तरमा मिश्रित प्रतिक्रिया देखिएको हो। डा. केसीले गेटा मेडिकल विश्वविद्यालयसम्बन्धी ऐन हतारमा ल्याइएको र त्यसले चिकित्सा शिक्षामा सुधारभन्दा केही समूहको स्वार्थ पूरा गर्ने उद्देश्य बोकेको आरोप लगाएका छन्। उनले नयाँ विश्वविद्यालय स्थापना गर्नुको सट्टा त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै मेडिकल विश्वविद्यालयको रूपमा विकास गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।
तर सुदूरपश्चिमका धेरै नागरिकले भने गेटामा लामो समयदेखि मेडिकल शिक्षाको पूर्वाधार निर्माण भइरहेका बेला त्यसको सञ्चालनमा अवरोध पुग्ने कुनै पनि गतिविधिप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन्। सामाजिक सञ्जालमा गेटा विश्वविद्यालयको पक्षमा धेरैले समर्थन जनाउँदै डा. केसीको अनशनको आलोचना गरेका छन्।
फेसबुक प्रयोगकर्ता हिक्मत मल्ल, प्रेम भाट, डम्मरा थापा रावल, माधव पन्त, नृप विष्ट, हरिवोधन जोशीलगायतले गेटा मेडिकल विश्वविद्यालय सञ्चालन हुनुपर्ने धारणा सार्वजनिक गरेका छन्। केहीले डा. केसीको आन्दोलनले सुदूरपश्चिमको चिकित्सा शिक्षाको विकासमा असर पार्न सक्ने टिप्पणी गरेका छन् भने केहीले उनको अभियानको औचित्यमाथि नै प्रश्न उठाएका छन्।
डा. केसीको अनशन सुरु हुनुअघि नै सामाजिक सञ्जालमा पक्ष र विपक्षका धारणा तीव्र रूपमा फैलिएका छन्। गेटा मेडिकल विश्वविद्यालयको भविष्य, चिकित्सा शिक्षा सुधार र सरकारी नीतिलाई केन्द्रमा राखेर अहिले सुदूरपश्चिममा व्यापक सार्वजनिक बहस भइरहेको छ।

