काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता वीरबहादुर बलायरले पार्टी एकताका लागि अझै पनि आफूहरू लचक भएको भन्दै यसलाई सामान्य तरिकाले नबुझ्न चुनौती दिएका छन् । पार्टी संस्थापन पक्षले एकताको कुरा गर्ने तर एकताका लागि अघि बढ्नेगरी कुनै सम्झौता नगर्ने काम गरेको भन्दै उनले आपत्ति जनाए ।
बुधबार बीपी कोइरालाको ४४ औं स्मृति सभालाई सम्बोधन गर्ने क्रममा उनले आफूहरूलाई नजरअन्दाज गर्ने हो भने पाइला नरोकिने दाबी गरे । ‘यदि हामीलाई नजरअन्दाज गर्नुभयो, म चुनौतीका साथ भन्छु, अझै पनि हामी लक्ष्मणरेखाको भित्रै छौं । तोडिसकेका छैनौं, झलकमात्रै हो यो । टेलर मात्रै हो यो,’ उनले भने, ‘यदी हामीलाई बाध्य बनाउन थाल्नुभयो भने समय टाढा छैन । शुभमुहुर्त सुरु भएको छ । आज बीपीलाई सम्झंदैगर्दा हामीले पाइला निकालेका छौं । यी पाइला रोकिने छैन ।’
कांग्रेसको मुलुकको राष्ट्रिय परिस्थिति अब्बल बनाउनका लागि कांग्रेसको सक्षमता र क्रान्तिकारीताको आवश्यकता रहेको उनको भनाइ छ । ‘हामी भन्ने पक्षमा छैनौं, गरेर देखाउँछौं । हामी गरेर आएका हौं, गरेर देखाउँछौं,’ उनले भने ।

