कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सत्ता गठबन्धनका विषयमा विभिन्न चरणमा छलफल भइरहेको बताएका छन्। सत्ता गठबन्धनमा रहेको नेकपा (एमाले) का चार मन्त्रीलाई हटाएपछि एमालेले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा परिसकेका छन्।
एकातर्फ अल्पमतको सरकार, अर्कोतर्फ बजेट असफल भएपछि मुख्यमन्त्री शाह अहिले नैतिक संकटमा परेका छन्। बिहीबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पनि उनलाई राजीनामा दिन सुझाव दिइसकेको छ। अब मुख्यमन्त्री शाहले के गर्छन् त? आफूले संवैधानिक रूपमा पाएको अवधिभित्रै विश्वासको मत लिने तयारी गरिरहेको उनी निकट स्रोतहरू बताउँछन्।
अन्य दलहरूसँग पनि छलफल जारी रहेकाले अहिले मुख्यमन्त्री राजीनामा दिने पक्षमा नरहेको मुख्यमन्त्री निकट स्रोतले बतायो । सुदूरपश्चिममा कांग्रेस दोस्रो ठूलो दल हो। १८ जना सांसद रहेको कांग्रेसले ११ जना सांसद रहेको एमालेसँग सहकार्य गरेर सरकार चलाइरहेको थियो। अहिले सुदूरपश्चिममा एमालेले समर्थन फिर्ता लिएपछि २२ सांसद रहेको सबैभन्दा ठूलो दल नेकपाले पनि सरकारको नेतृत्वबारे छलफल गर्ने निर्णय गरिसकेको छ।
अब सुदूरपश्चिममा कांग्रेस–नेकपा वा एमाले–नेकपाको गठबन्धन हुने सम्भावना अधिक छ। तर, सत्ता गठबन्धन पूर्ण रूपमा नटुटेको अवस्थामा यही गठबन्धनलाई निरन्तरता दिन पनि दुवै दलका केही नेताहरू लागिरहेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल फर्किएपछि यस विषयमा टुंगो लाग्ने बताइएको छ। ‘एमालेले समर्थन फिर्ता लिएपछि पनि मलाई एक महिनाको अवधि संविधानले दिएको छ। म त्योअनुसार संवाद र छलफलमा छु, ’ मुख्यमन्त्री शाहले भने, ‘केन्द्रमा पनि विभिन्न विषयमा छलफल भइरहेको छ। ती सबै कुराको टुंगो चाँडै लाग्नेछ। मलाई विश्वास छ, मैले सबैको विश्वास पाउने छु। ’
असार १ गते सरकारले ल्याएको बजेट हिजोसम्म पारित हुन नसकेपछि प्रदेशमा अहिले बजेट शून्यता सुरु भएको छ। कर उठाउन समस्या नभए पनि सरकारलाई खर्च गर्ने बाटो बन्द भएको छ। यो अवस्था धेरै लम्बिन नदिन पनि मुख्यमन्त्री शाहले सबैसँग छलफल गरिरहेको बताएका छन्।

