धनगढी । नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाह नयाँ समीकरणको कसरतमा जुट्नुभएको छ ।
आफ्नो नेतृत्वको सरकार जोगाउनका लागि उहाँ नेपाली कम्युनिस्ट पार्टी नेकपा सँग नयाँ समीकरण गर्न कसरत गरिरहनुभएको हो । सरकारलाई साथ दिनका लागि मुख्यमन्त्रीले दुई चरणमा नेकपासँग छलफल गरिसके पनि सहमति भने जुट्न सकेको छैन । नेकपाले सरकारको नेतृत्व आफ्नो पार्टीले गर्नेसहित बजेट पुनर्लेखनलगायत केही विषय अगाडि सारेपछि सहमति जुट्न नसकेको बताइएको छ ।
नीति तथा योजना आयोगका सदस्यसमेत रहनुभएका कांग्रेस नेता नृप सुनारले भने “नेकपाको आफ्नै अडान छ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकबाहिर रहेकाले कुनै कुराको टुङ्गो लागेको छैन ।”
सत्तामै रहेर बजेट पारित गर्न साथ नदिएपछि मुख्यमन्त्री शाहले सत्ता साझेदार दल नेकपा एमाले का मन्त्रीहरूलाई बर्खास्त गर्नुभएको थियो । आफ्ना मन्त्रीको बर्खास्तीपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले साथ छोडेपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेपाली कांग्रेसका १८ जना प्रदेश सभा सदस्य छन् । जसमध्ये एक प्रदेश सभा सदस्य प्रकाशबहादुर देउवा करिब एक वर्षदेखि अमेरिका हुनुहुन्छ ।
अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाहले नेकपाको साथ खोजिरहनुभएको छ । सभामुखसहित २२ प्रदेश सभा सदस्य रहेको नेपाली कम्युनिस्ट पार्टी सभामा सबैभन्दा ठुलो दल हो । ठुलो दलको हैसियतले नेकपा भने अब आफ्नो पार्टीले नेतृत्व गर्नुपर्ने निष्कर्षमा पुगेको छ । सो पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकले शाह नेतृत्वको सरकार कामचलाउ भइसकेकाले ठुलो दलको हैसियतले नेकपाले नेतृत्वका लागि कांग्रेस, एमाले दुवै दलसँग छलफल चलाउने निर्णय गरेको नेकपाका उपनेता मानबहादुर धामीले जानकारी दिनुभयो । उहाँले नियमित बजेटभन्दा पनि कामचलाउ सरकारलाई तत्काल अर्को विकल्पका लागि अनुरोध गर्ने निर्णय भएको उल्लेख गरे ।

