धनगढीः धनगढी उपमहानरपालिकामा भूमि प्रशासन सेवा प्रवाह सम्बन्धी तालिम सुरू भएको छ। शुक्रवारदेखि सुरू भएको तालिम पाँच दिनसम्म चल्नेछ।
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलले धनगढी २० जना तथा कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका ४ जनासहित २४ जना कर्मचारीलाई भूमि सेवा प्रवाह सम्बन्धी तालिम दिनेछ।
धनगढी उपमहानगरपालिकामा उक्त तालिम आयोजना हुने छ। धनगढी र बेल्डाडी गाउँपालिकाको भूमि प्रशासन शाखाका कर्मचारीलाई भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेल, नापी कार्यालय र मालपोतका अधिकारीहरूले कर्मचारीहरूलाई तालिम दिने बताइएको छ।
शुक्रवार उपमहानगरपालिकामा भएको कार्यक्रममा नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकलाकुमारी राना, कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलका सञ्जय प्रधान, मालपोत कार्यालय धनगढीका लक्ष्मणबहादुर खड्का तथा नापी कार्यालय धनगढीका प्रमुख नापी अधिकृत केशवराज लेखकको यपस्थिति रहेको थियो।
भूमि प्रशासन सेवा स्थानीय तहबाट प्रदान गर्न कर्मचारीहरूलाई सक्षम बनाउन सुरूमा पाँच दिने तालिम दिन लागिएको र असोजपछि फेरि पाँच दिने तालिम धनगढी उपमहानरपालिकामै आयोजना हुने भएको छ। तालिमले धनगढी र बेल्डाडी गाउँपालिकाका भूमि प्रशासन शाखाका कर्मचारीहरूलाई सक्षम बनाउने अपेक्षा गरिएको छ।

