धनगढी: कैलालीको गोदावरी नगरपालिका–२ तेघरीबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको गुड र गोट्टा बोकेको मिनी ट्रक प्रकरण सेलाउन नपाउँदै ‘पञ्चलक्ष्मी’ लेखिएको अर्को १० चक्के ट्रकमार्फत सुदूरपश्चिमका पहाडी जिल्लामा सामान तस्करी हुने गरेको आरोप सार्वजनिक भएको छ।
यसअघि असार १९ गते राति करिब ९:२० बजे विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय त्रिनगर, कैलालीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनजंग कार्कीको कमाण्डमा खटिएको टोलीले सुदूरपश्चिम प्रदेश ०२–००१ ख १२२२ नम्बरको मिनी ट्रक नियन्त्रणमा लिएको थियो। सो ट्रकमा सामानहरु बझाङतर्फ लैजान लागिएको थियो।
उक्त ट्रकमा आवश्यक कागजातबिनै मालसामान ओसारपसार भइरहेको तथा नियन्त्रणमा पर्दासम्म अनलाइन बिल र भीसीटीएस जारी नभएको दाबी गरिएको छ। तर पछि सामानधनिले नक्कली बिलविजक तयार पारेको समेत आरोप लागेको छ। यसैबीच स्रोतका अनुसार सु.प.प्र. ०१–००२ ख ०९६४ नम्बरको ‘पञ्चलक्ष्मी’ लेखिएको १० चक्के ट्रक मार्फत पनि सुदूरपश्चिमका पहाडी जिल्लातर्फ नियमित रूपमा तस्करी हुने गरेको सूचना प्राप्त भएको छ। स्रोतले उक्त ट्रक लामो समयदेखि विभिन्न मालसामान ढुवानी गर्दै आएको र प्रहरीले निगरानी बढाएको जनाएको छ।
यद्यपि, यी आरोपहरू भने पञ्चलक्ष्मी ट्रेडर्सका सञ्चालकले भने निराधार रहेको बताएका छन्। उनले सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको आफ्नो गुड र गोट्टा बोकेको मिनी ट्रकलाई त्रिनगर भन्सार कार्यालयले छाडेको पनि जनाए।

