धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले कनरी–फूलबारी रिङ्ग रोड (चक्रपथ) मा अत्याधुनिक सडक बत्ती जडान गरी रात्रिकालीन आवागमनलाई थप सुरक्षित र सहज बनाएको छ। उपमहानगरपालिकाका अनुसार वडा नम्बर १४, १५, १८ र १९ अन्तर्गत पर्ने चक्रपथमा रहेका २१० वटा बिजुलीका पोलमा सेन्सरयुक्त एलईडी सडक बत्ती जडान गरिएको हो।
वडा नम्बर १५ को कनरीदेखि वडा नम्बर १९ को आई गाउँसम्म सडक बत्ती जडान सम्पन्न भएपछि बुधबारदेखि उक्त क्षेत्रमा रात्रिकालीन उज्यालो विस्तार भएको उपमहानगरपालिकाले जनाएको छ। सडक बत्ती सञ्चालनमा आएपछि रातिको समयमा सवारीसाधन आवागमन, पैदलयात्रु तथा स्थानीय बासिन्दाको सुरक्षामा थप सहजता पुग्ने अपेक्षा गरिएको छ। यससँगै चक्रपथ क्षेत्रको सौन्दर्यसमेत बढेको छ।
उपमहानगरपालिकाले आगामी दिनमा आवश्यक अन्य स्थानमा समेत सडक बत्ती विस्तार गर्दै सुरक्षित, व्यवस्थित र उज्यालो सहर निर्माण अभियानलाई निरन्तरता दिने जनाएको छ।

