धनगढी: यस वर्ष सुरु भएपछि (वैशाख १ देखि १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल २ हजार ७२१ विपदजन्य घटनामा १२७ को मृत्यु भएको तथा ७७३ जना घाइते भएका छन् ।
ती विपदमा ३ हजार ७२२ परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ । सबैभन्दा बढी सर्पदङ्शका ३९८ घटनामा परेर २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन् । यस्तै लेक लागेका ५४ घटनामा २१ जनाको मृत्यु र ३४ जना घाइते तथा चट्याङका २०५ घटनामा १९ जनाको मृत्यु र ९८ जना घाइते भएका छन् ।
यस्तै, सबैभन्दा बढी घटना भने आगलागीका भएका छन् । आगलागीका ८३० घटनामा १७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । जनावरको आक्रमणका १४७ घटनामा १४को मृत्यु र ८२ जना घाइते भएका छन् । हावाहुरीका ४७४ घटना भएका र ती घटनामा परेर १३ जनाको मृत्यु तथा ६७ जना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ ।

