धनगढी। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको यात्रुवाहक बस शुक्रबार बैतडीको पाटन नगरपालिका–९ स्थित गैराखान नजिक दुर्घटनाग्रस्त हुँदा १७ जना यात्रु घाइते भएका छन्। प्रहरीका अनुसार बस सडकबाट करिब ६० मिटर तल खसेको थियो। दुर्घटनामा घाइते भएका १७ जनामध्ये १४ जनालाई धनगढीस्थित माया मेट्रो अस्पतालमा ल्याई उपचार भइरहेको छ।
माया मेट्रो अस्पतालका पीआर म्यानेजर जगत महतका अनुसार अस्पतालमा उपचाररत १४ जना घाइतेमध्ये ७ जनाको सघन उपचार कक्षमा तथा ७ जनाको न्युरो वार्डमा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ। घाइतेहरूको स्वास्थ्य अवस्थाको निरन्तर अनुगमन गर्दै आवश्यक उपचार सेवा प्रदान गरिएको उनले जानकारी दिए।
अस्पतालमा उपचाररत घाइतेहरूमा जनत पन्त, रामदत्त पाण्डेय, मोहन पन्त, धना पहारी, दीपक बिक, दिनेश भट्ट, सिद्धार्थ भण्डारी, रमेश महार, दीपा महार, अरुण महार , माया बिष्ट, जनकराज जोशी, रत्ना भण्डारी र अनुग्रह ठगुन्ना रहेका छन्। दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

