धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्राफिक नियमको पूर्णपालना गर्नरगराउन सरोकार भएका सबैलाई आग्रह गरेका छन्। आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले दुर्घटनाबाट हुने सम्भावित जोखिमबाट बँच्न अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिए।
मुख्यमन्त्री शाहले निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको श्रव्यदृश्य साम्रगी सार्वजनिक भएपछि आलोचना भएको थियो। त्यसबारे स्पष्ट पार्दै उनले भने, कानुनका अगाडि कोही सानो वा ठूलो हुँदैन। नियम सबैले पालना गर्नुपर्छ। सोहीकारण मैले पनि हेलमेट नलगाएर मोटरसाइकल चलाएको सामग्रीबारे आलोचना भएपछि जरिवाना तिरेको छु। आफ्नो सुरक्षाका लागि सबैले नियम पालना गर्नुपर्छ भन्ने सन्देश दिन सबै माझ जरिवाना तिरेको विषय सार्वजनिक गरेको हुँ। मुख्यमन्त्री शाहले जरिवानाबापत पाँच सय रुपैयाँ तिरेका हुन्।
यसैबीच, मुख्यमन्त्री शाहले मनसुनी वर्षा सक्रिय भइसकेकाले सुदूरपश्चिमको भौगोलिक स्थिति, नदीनाला, बाटोघाटोलगायत क्षेत्रमा वर्षाका कारण हुनसक्ने समस्याबारे सचेत रहन सबैलाई अनुरोध गरेका छन्। उनले सम्भावित जोखिमको आकलन गरी प्रदेशका सबै संयन्त्र तयारी अवस्थामा रहेका जनाउँदै सरोकार भएका निकायका प्रतिनिधिलाई पनि सोहीअनुसार तयार रहन आग्रह गरे।
ुवर्षा सुरु भइसकेको छ। यसले निम्त्याउने समस्याबारे सबै सचेत रहौँ। सरकार सुरक्षाका सबै उपायबारे पूर्वतयारी अवस्थामा छ। नागरिक र सबै सरोकार भएकाहरू पनि सचेत रहनुहोलाु, उनले भने।

