धनगढी: सुदूरपश्चिम प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले युवा–युवतीलाई लक्षित गरी तीनदिने प्रकृति पथप्रदर्शक (नेचर गाइड) तालिम सुरु गरिएको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा आयोजना गरेको तालिममा प्रदेशका विभिन्न जिल्लाका ४० जना युवा–युवती सहभागी छन्। तालिमको उद्देश्य पर्यटन क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्दै पर्यटकलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु रहेको आयोजकले जनाएको छ।
नाटा सुदूरपश्चिमका अध्यक्ष पदम विक्रम सिंहले प्राकृतिक तथा धार्मिक पर्यटनको उच्च सम्भावना हुँदाहुँदै पनि दक्ष पथप्रदर्शक, गुणस्तरीय सेवा, सुरक्षित आवास र आवश्यक पूर्वाधारको अभावका कारण अपेक्षित संख्यामा पर्यटक भित्र्याउन नसकिएको बताए। उनका अनुसार तालिममार्फत पर्यटनसम्बन्धी आधारभूत ज्ञान, पर्यटकसँग गर्ने व्यवहार, आतिथ्यता सेवा, प्रकृति पथप्रदर्शन तथा पर्यटकको सुरक्षित व्यवस्थापनबारे प्रशिक्षण दिइनेछ।
उनले यो आधारभूत प्रकृतिको तालिम भएकाले आगामी दिनमा लाइसेन्स प्राप्त गर्न सकिने स्तरको व्यावसायिक तालिम सञ्चालनका लागि आवश्यक बजेट व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह पनि गरे। यस्ता तालिमले पर्यटन सेवाको गुणस्तर सुधार गर्नुका साथै पर्यटकको बसाइ अवधि बढाउन र नयाँ गन्तव्यको प्रवर्द्धन गर्न सहयोग पुग्ने उनको विश्वास छ।
कार्यक्रममा पर्यटन व्यवसायीहरूले नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालयको अभाव, महँगो हवाई भाडा, स्तरीय होटलको कमी, पर्यटन पूर्वाधारमा पर्याप्त लगानी नहुनु तथा आवश्यक संरचना निर्माणमा ढिलाइका कारण विदेशी पर्यटक आकर्षित गर्न चुनौती रहेको बताएका छन्। उनीहरूले पर्यटनलाई प्रदेशको आर्थिक विकासको प्रमुख आधार बनाउन राज्यले थप लगानी र नीतिगत सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।
पर्यटन व्यवसायी मायाप्रकाश भट्टले सुदूरपश्चिममा पर्यटनको सम्भावना अत्यधिक भए पनि आवश्यक लगानीको अभावले अपेक्षित रूपमा पर्यटक भित्रिन नसकेको बताए। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले सीमित स्रोत–साधनका बाबजुद प्रदेश सरकार गठनपछि पर्यटन क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। आगामी दिनमा निजी क्षेत्रसँग सहकार्य गर्दै पर्यटन पूर्वाधार विकास, दक्ष जनशक्ति उत्पादन र पर्यटकीय गन्तव्यको प्रवर्द्धनलाई थप प्रभावकारी बनाइने उनले बताए।
प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध सुदूरपश्चिममा पूर्वाधार, दक्ष जनशक्ति र लगानीको अभावले पर्यटन क्षेत्र अपेक्षित रूपमा विकास हुन नसकेको अवस्थामा यस्ता तालिमले पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गरी सेवाको गुणस्तर सुधार गर्न महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

