धनगढी: श्रवणदृष्टि–विहीन व्यक्तिहरूको दोस्रो अन्तर्राष्ट्रिय दिवसको अवसरमा बहिरा तथा अपाङ्गता क्षेत्रमा कार्यरत विभिन्न संघ–संस्थाले श्रवणदृष्टि–विहीन व्यक्तिहरूको पहिचान, समान अधिकार, पहुँचयुक्त सेवा र विकास सुनिश्चित गर्न सरकार तथा सबै सरोकारवालासँग ऐक्यबद्धता र सहकार्यका लागि आह्वान गरेका छन्।
राष्ट्रिय बहिरा महासंघ नेपाल, नेपाल नेत्रहीन संघ, श्रवणदृष्टि–विहीन संघ नेपाल, कैलाली बहिरा संघ, बहिरा दृष्टि–विहीनता अभिभावक नेपाल, श्रवणदृष्टि–विहीन अभिभावक समाज रुपन्देही, श्रवणदृष्टि–विहीन अभिभावक समाज मोरङ लगायतका संस्थाले शुक्रबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै श्रवणदृष्टि–विहीन व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताएका हुन्।
विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको ७९औँ महासभाले प्रत्येक वर्ष जुन २७ लाई “श्रवणदृष्टि–विहीनता सम्बन्धी अन्तर्राष्ट्रिय दिवस” का रूपमा मनाउने घोषणा गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको उल्लेख गरिएको छ। यस दिवसले श्रवणदृष्टि–विहीन व्यक्तिहरूको अधिकार संरक्षण, जीवनस्तर सुधार, जनचेतना अभिवृद्धि तथा राष्ट्रिय प्रतिबद्धतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
श्रवणदृष्टि–विहीनता श्रवण र दृष्टि दुवैमा ह्रास हुने पृथक प्रकारको अपाङ्गता भएकाले सूचना, सञ्चार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा सामाजिक सहभागितामा गम्भीर चुनौती सिर्जना हुने विज्ञप्तिमा उल्लेख छ। त्यसैले सांकेतिक भाषा, स्पर्श सञ्चार, वैकल्पिक सञ्चार प्रणाली, पहुँचयुक्त सेवा तथा आवश्यक सहयोगको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ।
संयुक्त विज्ञप्तिमा अपाङ्गता अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्दै समान अधिकार, समान अवसर र पहुँच सुनिश्चित गर्न सरकारसँग आग्रह गरिएको छ। साथै नीति निर्माणदेखि कार्यान्वयनसम्म श्रवणदृष्टि–विहीन व्यक्तिहरूको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको छ।
परिवार र समुदायको भूमिका पनि अधिकार कार्यान्वयन तथा समावेशी समाज निर्माणका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै समुदायस्तरमा सहयोग, सेवा पहुँच र समन्वयलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।
संयुक्त विज्ञप्तिमार्फत सरकार, अपाङ्गता क्षेत्रमा कार्यरत संघ–संस्था, नागरिक समाज, विकास साझेदार, परिवार तथा समुदायलाई पहुँचयुक्त सेवा, सशक्तीकरण र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै श्रवणदृष्टि–विहीन व्यक्तिहरूले सम्मान, आत्मनिर्भरता, समान अवसर र पूर्ण नागरिक अधिकारसहित जीवनयापन गर्न सक्ने समावेशी समाज निर्माणमा हातेमालो गर्न आह्वान गरिएको छ।

