धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि सुदूरपश्चिम भूगोलबाट उम्मेदवारी दिएका बैतडीका युवा समाजसेवी तथा प्रवासी नेपाली वीरबहादुर बिष्ट (विनोद) निर्वाचनमा विजयी हुन नसके पनि उल्लेखनीय मत प्राप्त गर्न सफल भएका छन्।
भारतमा रोजगारीसँगै संगठन निर्माणमा सक्रिय बिष्ट महाधिवेशनमा सहभागी हुन भारतबाटै चितवन पुगेका थिए। केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा गरेका उनले ५५० मत प्राप्त गरेका छन्। सीमित चिनजान र संगठनभित्र सबै प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्क नभएको अवस्थामा प्राप्त मतलाई उनले आफ्नो लागि उत्साहजनक उपलब्धि भएको बताएका छन्।
निर्वाचन परिणाम सार्वजनिक भएपछि बिष्टले सामाजिक सञ्जालमार्फत सबै मतदाता, शुभेच्छुक तथा सहयोगीप्रति आभार व्यक्त गरेका छन्। उनले भने, “मलाई धेरै ठाउँबाट रोक्ने प्रयास भयो, क्रम संख्यामै चलखेल भयो। तैपनि प्राप्त मत मेरा लागि निकै राम्रो हो। सबैलाई धन्यवाद, अब म फेरि कर्मभूमितर्फ फर्कँदैछु।”
बिष्टले प्राप्त गरेको मत सुदूरपश्चिम भूगोलबाट उम्मेदवार बनेका दुई बहालवाला प्रतिनिधिसभा सदस्यभन्दा पनि बढी रहेको छ। उनले कञ्चनपुर–३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र सिंह महता (५१८ मत) र बैतडीका प्रतिनिधिसभा सदस्य हरिमोहन भण्डारी (५४१ मत) भन्दा बढी मत प्राप्त गरेका हुन्।
प्रवासमा रहेर पनि संगठन विस्तार, पार्टी गतिविधि र सामाजिक अभियानमा सक्रिय रहँदै आएका बिष्टले प्राप्त गरेको मतलाई पार्टीभित्र उनको लोकप्रियता र स्वीकार्यताको संकेतका रूपमा हेरिएको छ।
सुदूरपश्चिम भूगोलतर्फको निर्वाचनमा हेमराज थापाले २०३० मतसहित सर्वाधिक मत प्राप्त गरेका छन् भने केपी खनालले १८४६ मत र दीपकराज बोहोराले १४५० मत प्राप्त गरेका छन्।
पराजित भए पनि बिष्टले प्राप्त गरेको मतले आगामी दिनमा पार्टीभित्र उनको राजनीतिक भूमिका थप सशक्त बन्न सक्ने संकेत गरेको राजनीतिक वृत्तमा चर्चा छ।

