धनगढी — नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले पत्रकार एश्वर्य कुँवरलाई शाखा सदस्य पदबाट निलम्बन गरेको छ।
महासङ्घले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असार ७ गते कञ्चनपुरको होटल स्वीट ड्रिममा भएको एक कार्यक्रममा भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटामाथि दुर्व्यवहार तथा हातपात भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिअनुसार शाखा सदस्यसमेत रहेका पत्रकार कुँवरले सार्वजनिक स्थलमा पत्रकारको पेशागत मर्यादा र आचारसंहिता विपरीत कार्य गरेको भन्दै नेपाल पत्रकार महासङ्घको विधान, २०६० (पाँचौं संशोधन, २०७५) बमोजिम स्पष्टीकरण सोध्ने र शाखा सदस्य पदबाट निलम्बन गर्ने निर्णय गरिएको हो।
महासङ्घले घटनाको छानबिन गरिरहेको उल्लेख गर्दै प्राप्त भिडियो सामग्रीमा वडा अध्यक्ष देवकोटाले पत्रकार कुँवरसँग फिरौती मागिएको तथा रकम असुली गरिएको जस्ता गम्भीर आरोप लगाएको देखिएकाले त्यससम्बन्धी प्रमाण तथा आधार उपलब्ध गराउनसमेत आग्रह गरेको छ।
महासङ्घ कञ्चनपुरका सचिव कुन्दन पाण्डेयद्वारा हस्ताक्षरित विज्ञप्तिमा पछिल्लो समय पत्रकार आचारसंहिता र पेशागत मर्यादा विपरीतका गतिविधि सार्वजनिक भइरहेकाले जिल्लाका सम्पूर्ण पत्रकारलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ।
घटनापछि पत्रकार महासङ्घले आवश्यक अनुसन्धान गरी थप निर्णय लिने जनाएको छ।


