धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनबाट बिना बिष्ट खुला तर्फको प्रदेश सदस्य पदमा २१२ मत प्राप्त गर्दै विजयी भएकी छन्। अधिवेशनमा सहभागी प्रतिनिधिहरूमध्येबाट उनले अत्यधिक मत प्राप्त गर्दै प्रदेश सदस्यमा आफ्नो स्थान सुरक्षित गरेकी हुन्।
पार्टीको प्रदेशस्तरीय नेतृत्व चयनका क्रममा खुला सदस्य पदमा बिना बिष्टको विजयलाई कार्यकर्ताहरूले उत्साहजनक रूपमा लिएका छन्। पार्टी संगठन विस्तार, सुशासन, पारदर्शिता र जनमुखी राजनीतिक अभियानलाई थप प्रभावकारी बनाउन उनले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
यसअघि नै अधिवेशनबाट प्रदेश सभापतिमा प्रकाश बिष्ट सर्वसम्मत निर्वाचित भइसकेका छन्। त्यस्तै उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष लगायतका अन्य प्रमुख पदाधिकारीहरू पनि सर्वसम्मत चयन भएका छन्। सर्वसम्मत नेतृत्व चयनसँगै रास्वपा सुदूरपश्चिमले संगठनात्मक एकता र सहकार्यको सन्देश दिएको पार्टी नेताहरूले बताएका छन्।


