धनगढी । सामाजिक अभियन्ता तथा समाजसेवी झनक खनाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनबाट प्रदेश कमिटी सदस्यमा निर्वाचित भएका छन्।
खनालले भूगोलतर्फ कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका थिए। निर्वाचन परिणामअनुसार उनले ३०९ मत प्राप्त गर्दै उक्त पदमा सबैभन्दा बढी मतसहित विजय हासिल गरेका हुन्।
युवामाझ लोकप्रिय छवि बनाएका खनाल लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्।
विभिन्न सामाजिक अभियान, जनचेतनामूलक कार्यक्रम तथा समुदायस्तरका गतिविधिमा उनको उल्लेखनीय योगदान रहँदै आएको छ।
प्रदेश कमिटी सदस्यमा निर्वाचित भएपछि खनालले पार्टीको संगठन विस्तार, सुशासन, पारदर्शिता र जनताका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै सुदूरपश्चिममा पार्टीलाई थप सशक्त बनाउन सक्रिय रहने बताएका छन्।
खनालको विजयलाई रास्वपाभित्र युवा नेतृत्वप्रतिको विश्वास र सामाजिक क्षेत्रबाट उदाएका नेतृत्वको स्वीकार्यताका रूपमा समेत हेरिएको छ।



