धनगढी । प्रदेश युवा परिषद्, सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा चार दिने “नमुना युवा संसद” कार्यक्रम सुरु गरिएको छ। युवामा लोकतान्त्रिक अभ्यास, संसदीय प्रक्रिया र नीतिगत बहस क्षमताको विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारी ले गरेका हुन्।
कार्यक्रमको आयोजना प्रदेश युवा परिषद् सुदूरपश्चिम ले गरेको हो भने सहकार्य संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA) सँग गरिएको छ। उद्घाटन समारोह परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउदको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेशभरिका ५० भन्दा बढी युवाहरूको सहभागिता रहेको छ।
समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले युवा पुस्ता लोकतान्त्रिक प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै नीति निर्माण प्रक्रियामा युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले नमुना युवा संसद जस्ता कार्यक्रमले नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री बेलबहादुर राना, राज्यमन्त्री मधु भारती, सामाजिक बिकास समितिका सभापति धर्म पाठक, लक्ष्मी बिक लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
चार दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सहभागी युवाहरूले संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया, बहस तथा छलफल, र नेतृत्व क्षमता विकाससम्बन्धी विभिन्न सत्रहरूमा सहभागिता जनाउने छन्।
आयोजकका अनुसार कार्यक्रमले युवाहरूलाई लोकतान्त्रिक अभ्यासको प्रत्यक्ष अनुभव दिलाउने मात्र नभई उनीहरूलाई भविष्यको नेतृत्वका लागि तयार गर्ने अपेक्षा गरिएको छ।


