धनगढी । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट मन्त्री तथा राज्यमन्त्री हेरफेर हुने लगभग निश्चित भएको छ। पार्टीभित्र लामो समयदेखि जारी आन्तरिक विवाद समाधानका लागि शनिबार साँझ भएको सहमतिपछि आइतबार नयाँ मन्त्रीहरूको शपथ गराउने तयारी गरिएको स्रोतले जनाएको छ। सहमतिअनुसार असन्तुष्ट समूहका नेता तथा प्रदेशसभा सदस्य दिवानसिंह विष्ट स्वयं मन्त्री नबन्ने भएका छन्। उनले आफ्नो समूहबाट अन्य सांसदलाई सरकारमा पठाउने तयारी गरेका छन्।
स्रोतका अनुसार असन्तुष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी पाउनेछ भने मुख्यमन्त्री कमलबहादुर शाह पक्षले एक मन्त्री र एक राज्यमन्त्री चयन गर्नेछ। असन्तुष्ट समूहबाट मन्त्री बन्ने दौडमा प्रदेशसभा सदस्य बेलबहादुर राना, पदमबहादुर शाही, मानबहादुर रावल र तुलसी देवकोटा रहेका छन्। तीमध्ये दुई जना मन्त्री बन्ने सम्भावना बलियो रहेको बताइएको छ। यता मुख्यमन्त्री शाह पक्षबाट आर्थिक मामिला मन्त्रालयका लागि प्रदेशसभा सदस्य डम्मरी महरा (रक्षा) र प्रमुख सचेतक विक्रमसिंह धामीको नाम चर्चामा छ। पहाड–तराई तथा क्षेत्रीय सन्तुलन मिलाएर मन्त्रिमण्डल गठन गर्ने तयारी भएकाले अन्तिम निर्णयमा दुवैको नाम विचाराधीन रहेको स्रोतको दाबी छ।
यसअघि कांग्रेसका नौ प्रदेशसभा सदस्यले मुख्यमन्त्री तथा संसदीय दलका नेता कमलबहादुर शाहलाई हटाउन हस्ताक्षर बुझाएका थिए। तर प्रदेशसभा सदस्य डम्मरी महराले आफ्नो हस्ताक्षर फिर्ता लिएपछि शक्ति सन्तुलन शाहको पक्षमा गएको थियो। त्यसयता महरा मुख्यमन्त्री शाहकी विश्वासपात्र नेतृका रूपमा स्थापित भएकी छन्। यद्यपि प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका विक्रमसिंह धामीको नाम पनि चर्चामा रहेकाले आर्थिक मामिला मन्त्रीमा कसले जिम्मेवारी पाउने भन्ने विषय अन्तिमसम्म रोचक बनेको छ। राजनीतिक वृत्तमा भने महराको सम्भावना तुलनात्मक रूपमा बलियो रहेको चर्चा छ।
कांग्रेस संसदीय दलभित्रको विवाद समाधान गर्न पार्टीका केन्द्रीय सहमहामन्त्री उदयशम्शेर राणा तथा केन्द्रीय सदस्य राजन केसी विगत चार दिनदेखि धनगढीमा सक्रिय थिए। उनीहरूको पहलमा मुख्यमन्त्री शाहलाई हटाउने प्रयास रोकिएको र मन्त्रीहरू मात्र परिवर्तन गर्ने सहमति जुटेको बताइएको छ। मन्त्री हेरफेरसँगै केही सातादेखि चर्किएको नेपाली कांग्रेसभित्रको विवाद तत्कालका लागि साम्य हुने अपेक्षा गरिएको छ।


