धनगढी: सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सङ्घीयता, समावेशी शासन र अन्तर–सरकारी सम्बन्धबारे युवामाझ साझा बुझाइ विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय युवा संवाद कार्यक्रम सम्पन्न भएको छ। प्रदेश तथा स्थानीय शासन सबलीकरण कार्यक्रम (PLGSP/UNDP) र फेडरलिज्म एण्ड लोकलाइजेशन सेन्टरको सहकार्यमा आयोजित कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट आएका ३९ जना युवा, विद्यार्थी, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सङ्घीयता कार्यान्वयन, वित्तीय सङ्घीयता, समावेशी लोकतन्त्र, सामाजिक समावेशीकरण तथा युवाको अर्थपूर्ण सहभागिताका विषयमा छलफल गरिएको थियो। समूह कार्य, रोल–प्ले र अन्तरक्रियात्मक सत्रमार्फत सहभागीहरूले प्रतिनिधित्वभन्दा पर वास्तविक समावेशिता र उत्तरदायी शासन प्रणालीको आवश्यकतामाथि जोड दिएका थिए। संघीयताविद् डा. खिमलाल देवकोटा, संविधानसभा सदस्य प्रह्लाद लामिछाने, पूर्व राष्ट्रियसभा सदस्य प्रकाश पन्थ लगायतका विज्ञहरूले विभिन्न विषयगत सत्रमा सहजीकरण गरेका थिए। कार्यक्रमको अन्त्यमा प्रदेशस्तरीय युवा सङ्घीयता चार्टरसमेत तयार गरिएको आयोजकले जनाएको छ।


