धनगढी: नयाँ स्टार्टअप उद्यमीहरूको व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीमा व्यवसाय प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ। नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले उद्यमशीलता विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो। महासंघका अनुसार उद्यमीहरूलाई व्यवसाय व्यवस्थापन, बजार विस्तार, मार्केटिङ तथा उद्यम सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्न कार्यक्रम सञ्चालन गरिएको हो। महासंघले साना तथा ठूला व्यवसायको प्रवर्द्धन, क्षमता विकास र व्यवसायिक शिक्षासम्बन्धी विभिन्न तालिम तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानसँगको सहकार्यमा हालै सम्पन्न तीनदिने स्टार्टअप व्यवसाय प्रवर्द्धन कार्यक्रममा घरेलु उत्पादनको बजारीकरण, व्यवसाय व्यवस्थापन तथा उद्यम विकासका विविध विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। तालिमबाट व्यवसाय सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुगेको सहभागी उद्यमी मदनराज उपाध्यायले बताए। व्यवसायसम्बन्धी पर्याप्त ज्ञानको अभावमा कामचलाउ रूपमा व्यवसाय सञ्चालन गरिए पनि अब रणनीतिक रूपमा अघि बढ्न सकिने उनको भनाइ छ।
तालिममा सहभागी अन्य उद्यमीहरूले पनि व्यवसाय सञ्चालन, बजार व्यवस्थापन र मार्केटिङका क्षेत्रमा प्राप्त ज्ञानले आफ्नो उद्यमलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने बताएका छन्। सहभागी महेश्वरी सिंहले सीप सिकेर घरेलु उद्योग सञ्चालन गरिरहेका धेरै उद्यमीहरू व्यवसाय प्रवर्द्धनसम्बन्धी जानकारीको अभावका कारण अपेक्षित सफलता हासिल गर्न नसकेको बताइन्। कार्यक्रमबाट व्यवसायिक योजना निर्माण, बजार व्यवस्थापन र प्रवर्द्धनका उपायबारे जानकारी पाएपछि आफू उत्साहित भएको उनले बताइन्।
नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गरी उद्यमशीलता प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। साना व्यवसायलाई विस्तार गर्दै आत्मनिर्भर र प्रतिस्पर्धी उद्यममा रूपान्तरण गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने महासंघको विश्वास छ। साना तथा लघु उद्यमीहरूलाई व्यवसायमा सक्षम र प्रतिस्पर्धी बनाउन प्रशिक्षण सञ्चालन गरिएको महासंघका अध्यक्ष पुष्पराज कुँवरले बताए। तीन दिनसम्म कैलाली उद्योग वाणिज्य संघको सभाहलमा सञ्चालन भएको प्रशिक्षण मंगलबार सम्पन्न भएको हो। समापन कार्यक्रममा उद्यमीहरूले आफ्ना उत्पादन प्रदर्शन गरेका थिए भने मिनी हाटबजार पनि सञ्चालन गरिएको थियो।
उद्यमशीलता प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरणमा केन्द्रित यस्ता कार्यक्रमले नयाँ तथा साना उद्यमीहरूको क्षमता अभिवृद्धि गर्दै व्यवसायलाई दिगो बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यस्ता कार्यक्रमले रोजगारी सिर्जना, स्थानीय उत्पादनको प्रवर्द्धन तथा आर्थिक समृद्धिमा समेत सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।


