धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य पदमा डोटीकी लोक तथा दोहोरी गायिका कृष्णा सिराडीलाई नियुक्त गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्णयअनुसार डोटीको बडीकेदार गाउँपालिका–५ निवासी सिराडीलाई प्राज्ञ परिषद् सदस्यमा नियुक्त गरिएको हो। लामो समयदेखि लोकसंगीत तथा गायन क्षेत्रमा सक्रिय सिराडीले हालसम्म करिब २०० वटा गीतमा स्वर दिएकी छन्।
गायनसँगै उनले विभिन्न सांगीतिक भिडियोहरूको छायांकन तथा निर्देशनको कामसमेत गर्दै आएकी छन्। लोकसंस्कृति, कला र संगीतको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउँदै आएकी सिराडीको नियुक्तिलाई सांस्कृतिक क्षेत्रका व्यक्तिहरूले सकारात्मक रूपमा लिएका छन्।
यसअघि सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको अध्यक्षमा रामचन्द्र नेपाल तथा उपकुलपतिमा सरस्वती दाहाल नियुक्त भइसकेका छन्। प्रदेश सरकारले प्रतिष्ठानलाई पूर्णता दिने क्रममा प्राज्ञ परिषद्का सदस्यहरूको नियुक्ति समेत सम्पन्न गरेको जनाएको छ।
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान प्रदेशको भाषा, साहित्य, कला, संस्कृति तथा अनुसन्धानको संरक्षण, संवर्द्धन र विकासका लागि स्थापना गरिएको संस्था हो। कृष्णा सिराडीको नियुक्तिसँगै प्रतिष्ठानमा सांगीतिक तथा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व थप सशक्त हुने अपेक्षा गरिएको छ।

